काठमाण्डौंः लमजुङको जिल्ला सदरमुकामबाट १३ बर्षीया किशोरी अपहरण गरेको घट्नाका आरोपी एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत लमजुङको आदेशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान गरिएको हो ।
कारागार चलान हुनेमा भारत मोतिहारीमा स्थायी बसोबास भई बेसीशहर नगरपालिका– ७, सहजीमा सिरक– डसनाको काम गर्ने ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान र उनका १७ बर्षीय छोरा रहेको लमजुङ जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए ।
उनका अनुसार जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले उनीहरूलाई अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्धामा थुनामा राखेर पुर्पक्ष गर्न कारागार चलानको आदेश दिएको हो । उनले भने, ‘खानका छोरालाई बाल अधिकार ऐन अनुसार ‘बाल सुधारगृह’ पठाउन आदेश भएको छ ।
१७ बर्षीय खानका छोरालाई पोखरा स्थित ‘बाल सुधारगृह’ पठाउन तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । उनका अनुसार खान परिवारका सदस्यले बेसीशहर नगरपालिका– ७, बस्ने १३ वार्षीय किशोरी कला( नामपरिवर्तन) लाई गत मङ्सिर २४ मा अपहरण गरि भारततर्फ लग्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरि पक्राउ गरेको हो ।
अपहरणको खबर लगत्तै सक्रिय बनेको लमजुङ प्रहरीले किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनका अनुसार उक्त क्षेत्रबाट नै खान परिवारलाई पुस १५ गते पक्राउ गरिएको थियो । उनले भने, ‘किशोरीका बाबुआमा चलाख भएका कारणले ती किशोरी बेचिनबाट बचेको अनुसन्धानमा खुलेको हो ।’
खान परिवार बेसीशहर नगरपालिका– ७, सहजीमा सिरक– डसना बनाउने काम गर्दै आएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया