माघ २८, २०८१ सोमबार February 10, 2025

युवा उद्यमीलाई प्रोत्साहन गर्दै कांग्रेस

भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दो छ। त्यसैकारण सुखद् र सुरक्षित भविष्यको खोजिमा दैनिक हजारौं युवा बिदेसिन्छन्।

स्वदेशमै रहेका युवामा पनि देशमा ‘केही हुँदैन’ भन्दै निराशा व्याप्त छ। तर, सत्तासीन दलहरू भने युवाको समस्याभन्दा ‘सत्ता र शक्ति’ को खेलमा मात्रै तल्लिन छन् भन्ने आरोप लाग्ने गरेको छ। त्यसैकारण सत्तासीन कांग्रेसले साना र मझौला उद्यम गरिरहेका युवालाई ‘प्रोत्साहन’ गर्न सम्मेलन गरेको छ।

आत्मनिर्भर र स्वदेशमै रोजगारी सिर्जना गर्न चाहने युवालाई बाटो देखाइदिने उद्देश्यले दुई दिने नेपाल स्टार्टअप र साना–मझौला व्यवसाय सम्मेलन गरिएको कांग्रेसको भनाइ छ। पार्टी कार्यालय सानेपा परिसरमा सुुरु भएको सम्मेलनको बुधबार पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। ‘गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्न चाहने युवाका लागि बाटो देखाइदिने उद्देश्यले सम्मेलन गरिएको हो,’ देउवाले भने, ‘यसले एउटा सिँढी थप्न सहयोग पुग्ने छ।’

मुलुकको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको देउवाले बताए।, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ,’ देउवाले भने, ‘त्यसैले हाम्रो अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको छ।’

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उल्लेख गर्दै भने, ‘यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यता सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ। थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ।’

नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रबद्र्धन गर्ने नीति लिएको सभापति देउवाले बताए। उनले भने, ‘युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रबद्र्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरूको समस्या बुझी पार्टीलाई सुझाव दिन ‘उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग’ गठन गरेका हौं। उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानुनी तथा प्रक्रियागत झन्झटहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ। यो कानुनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु।’

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको उनले बताए। राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्ने उनले जिकिर गरे। देउवाले अगाडि भने, ‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्नेछ।’ उनले भने, ‘त्यसमाथि पछिल्लो समय स्टार्टअपमा आकर्षण बढ्दो छ, युवा पुस्ताले थौरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दै छन्।’

सभापति देउवाले उद्यमीहरूले भोग्नुपरेको कानुनी र प्रक्रियागत झन्झट हटाउन सरकारले हालै अध्यादेशमार्फत कानुनमा सुधार गरेको पनि बताए। पार्टी कार्यालयमा जम्मा भएका उद्योगी व्यवसायीहरूले भने कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गरे मात्र लगानीको सहज वातावरण बन्ने बताएका छन्।

सम्मेलनमा व्यवसायीहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएका अध्यादेशले उद्योगी व्यवसायीहरूलाई सहज भएको बताए। उनले भने, ‘सरकारले ल्याएका अध्यादेश महत्वपूर्ण छन्। यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ। यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि आग्रह गर्दछु।’

उनले भने, ‘उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकाले राजनीतिक दलहरूले गर्ने यस्ता नवप्रवर्तनका कामहरूलाई प्रोत्साहन गर्न सकियो भने युवाहरूलाई लगानी र स्टार्टतर्फ छिटो आकर्षित गर्न सकिन्छ।’ कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरूलाई उद्यम क्षेत्रमा प्रवेश गर्न महत्वपूर्ण भूमिका खेल्नेसमेत बताए।

अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाई ४० वर्ष लाग्यो। पहिला चुनौती थियो अहिले धेरै सहज छ। अहिले बैंक र वित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन्। विभिन्न समिटहरू भइरहेका छन्। त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ।’

नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले भनिन्, ‘सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरूका लागि विश्वास गर्नुपर्छ। जबसम्म हामीले स्वदेशमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं। सुरुमा आफूले आफैंलाई विश्वास गर्न सक्नुपर्छ।’

बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेले बिदेसिने युवाहरूलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरूबाट मुक्त गरिनुपर्ने बताए। उनले भने, ‘नेपालमा युवा पुस्ताले साइड बिजनेस गरेर लाखौं कमाइरहेका छन्। केही नभएको भन्ने होइन तर युवा पुस्तालाई बिदेसिनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरू फुकाउनुपर्ने देखिन्छ। हामीले वैैकल्पिक लगानीलाई पनि खुला गर्न आवश्यक छ, जसका कारण बैंक तथा वित्तीय संस्थासँग मात्र भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्।’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वित्तीय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे। उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवप्रवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन।’

उनले सकारात्मक सोचसहित व्यवसाय गर्नका लागि युवा वर्गलाई जागृत गर्न सके आर्थिक परिवर्तन सम्भव भएको पनि बताए। २७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताए। उनले भने, ‘केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ। हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौं। गत वर्षदेखि हामीले स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएका छौं। आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडि बढ्ने आधार तयार भइरहेका छन्।’

उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले उद्योगी व्यवसायीका लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरू व्यावसायिक क्षेत्रमा प्रवेश गर्न असहज छैन।’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरन्जीवी नेपालले सरकारको ‘सर्पोटबिना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताए। स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक भएको भन्दै उनले अगाडि भने, ‘उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाट नै हुनुपर्छ।’

उद्यम गर्छु भनेर खोज्ने युवाहरूका लागि सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेकाले नेपालले कर्जा प्रवाह बढाउनमा पहिलो ध्यान दिनुपर्ने उल्लेख गरे। नबिल बैंकका सिनियर डीसीओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। ज्ञवालीले भने, ‘स्टार्टअप सुरु–सुरुमै असफल हुने गरेको छ किनभने बैंकले बिजनेस असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरूले लगानी गर्दैनन्। स्टार्टअपहरूले बैंक खोज्नेभन्दा पनि सरकारी स्रोत खोज्नतिर लाग्नुपर्छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै व्यवसायीमा नयाँ ऊर्जा पलाएको बताए। उनले भने, ‘निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको त छ तर अध्यादेश पास नभई केही भन्न सकिँदैन।’

त्यसैगरी गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदूषी राणाले उत्पादनमूलक क्षेत्रमा नेपालले बढाउँदा युवाहरूलाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको तर्क थियो। राणाले अगाडि भनिन्, ‘व्यवसाय गर्न पछिल्लो समय विश्वमै चुनौती छ। नेपालमा धेरै छ। जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भइसकेको छ। प्रविधिलाई प्रयोग जसले गर्न सक्यो उही व्यवसायमा माथि पुगिराछ। त्यसैले गाउँगाउँमा प्रविधिमैत्री शिक्षाको आवश्यक छ।’

पार्टी केन्द्रीय सदस्य तथा उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रबद्र्धनसमेत गर्ने हेतुले सम्मेलन गरिएको बताएकी छन्।

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवा प्रदर्शनीमा राखेका छन्। पार्टी कार्यालय परिसरमा हस्तकला व्यवसाहीहरूले उत्पादनबारे जानकारी र बिक्रीका लागि ८० वटा स्टल राखेका थिए। कृषि अर्थतन्त्र बलियो बनाउन सहकारी मोडलमुक्तिनाथ कृषि कम्पनीका प्रमुख सीताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताए। ‘कृषिमा सफलताका लागि सहकारीको मोडलबाट नेपालको कृषि अर्थतन्त्र अगाडि बढाउने हो भने संस्थागत रूपमै कृषि क्षेत्रको समस्या समाधान हुन्छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्रको जग नै कृषि पेसा हो। देशको धेरै जनसंख्या कृषिमा संलग्न छन्। जुन सानो वा ठूलो परिवार कृषि पेसामा समाहित भएर नै जीविकोपार्जन गरिरहेका छन्। कृषिलाई रूपान्तरण गर्नका लागि संस्थागत हुनुपर्छ। जसका लागि पब्लिक कम्पनीको व्यवस्थापन हुनुपर्छ।’

हाइलाइफ अग्रो फुड इन्ड्रस्ट्रिज्का प्रमुख अम्बिका पौडेलले कृषि अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न सके मात्र औद्योगीकरणमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताए। उनले भने, ‘जबसम्म उत्पादन गर्ने निकाय र जिम्मा लिने निकायले कृषिलाई महत्वको साथ हेर्दैन तबसम्म किसानले मूल्य नपाउने समस्या रहिरहन्छ। कृषि क्षेत्रमा सप्लाई चेन गर्न नसक्ने हो भने कृषि क्षेत्रमा रिफर्म सम्भव छैन।’

कृषकका समस्या समाधान गर्नका लागि राज्यले राम्रो पोलिसी निर्माण गर्ने हो भने नेपालमा कृषि क्षेत्र कायापलट हुने र अर्थतन्त्र पनि बलियो बनाउन सकिने बताए। त्यस्तै काठमाडौं विश्वविद्यालयका प्राध्यापक भीम श्रेष्ठले नेपालका धेरै युवाहरू कृषिमै काम गर्नका लागि बाहिर जाने प्रतिस्पर्धा गर्नु चिन्ताको विषय भएको बताए। ‘सम्भावना भएको नेपालमा कृषि पेसाको सम्मान नहुनु, कृषि गर्नका लागि राज्यले व्यावसायिक वातावरण निर्माण गर्न नसक्नु प्रमुख समस्या देखिन्छ,’ उनले भने। घरेलु अथा साना उद्योग महासंघका उपाध्यक्ष सान्ता बाँस्कोटा कोइरालाले नेपालको कृषि क्षेत्रको सम्भावनालाई उत्पादन र बजारीकरणको मापदण्ड बनाउनका लागि उत्पादनकर्ताले मात्र नसक्ने बताएकी छन्।

उनले भनिन्, ‘त्यसका लागि बजारीकरण गर्नका लागि सहजीकरण गर्ने निकायले भूमिका खेल्दछ। त्यसका लागि सरकारले न्यूनतम मूल्य तोक्नै पर्छ। न्यूनतम् मूल्य तोक्दा उत्पादनकर्ता पनि घाटामा जानुपर्दैन।’ नेपाल हाल ३२ वटा वस्तुमा आत्मनिर्भर भएको भन्ने उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ। स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी उक्त सम्मेलनमा विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएका छन्। सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डीसीएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो।

उनीहरूले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुका साथै हस्तकला प्रशंसा गरेका थिए।

उक्त सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शन गरिएका छन्। नेपाल स्टार्टअप र साना–मझौला व्यवसाय सम्मेलन आयोजना गरेको सम्मेलन बिहिबार सकिने छ। अन्नपुर्णबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया