फागुण ५, २०८१ सोमबार February 17, 2025

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, १९ माघः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताउनुभएको छ । विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश सरकारले माग गरेका कानुनहरू छिटै निर्माण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । त्यसका लागि आफूले सरकारसँग् नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।

उहाँले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । “अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ । यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्”, उहाँले भन्नुभयो, “अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।”

सभामुख घिमिरेले विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताउनुभयो ।

आजै प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौँद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।

स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उहाँले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य राजनीतिक शक्तिको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले समाजमा रहेका कुरीति र जातीय विभेद अन्त्य गरी समाज परिवर्तन गर्ने भूमिकामा प्रगतिशील लेखक सङ्घ लाग्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैको भूमिका जरूरी रहेको बताउनुभयो । पुस्तकका लेखक एवं एमाले मोरङ इन्चार्ज घिमिरेले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा झापा, मोरङ र सुनसरीमा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई र विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया