फागुण ५, २०८१ सोमबार February 17, 2025

निमित्तकै भरमा सडकका ठुला आयोजना

ठुल्ठुला आयोजनाहरूमा आयोजना प्रमुखहरू दरबन्दीअनुसार नखटाई निमित्तले चलाउँदा कार्यसम्पादनमै असर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सडक विभागले सञ्चालन गरेका ठुल्ठुला बजेटका आयोजना निमित्तको भरमा चलेका छन्। खासगरी दुर्गम तथा हिमाली जिल्लामा सञ्चालन भइरहेका योजना निमित्तको भरमा चलेका हुन्। ठुल्ठुला आयोजनाहरूमा आयोजना प्रमुखहरू दरबन्दीअनुसार नखटाई निमित्तले चलाउँदा कार्यसम्पादनमै असर पर्ने विज्ञहरू बताउँछन्।

विभागका एक उच्च कर्मचारी भन्छन्, ‘कुनैकुनै ठाउँमा उपसचिवले नै हस्ताक्षर गर्नुपर्ने भनी नियममै व्यवस्था गरिएको हुन्छ। त्यस्तो ठाउँमा निमित्त आयोजना प्रमुख अथवा शाखा अधिकृतले हस्ताक्षर गर्न मिल्दैन। त्यस्तो अवस्थामा समस्या आउन सक्छ। केही ठाउँमा सार्वजनिक खरिद नियमावली कार्यान्वयन गर्न समस्या आउन सक्छ।’

ती कर्मचारी थप्छन्, ‘विशेष गरी निमित्तले चलाएका आयोजनामा समग्र आयोजना हेर्ने दृष्टिकोणमै फरक पर्छ। सहसचिवले निमित्त सचिव चलाएको जस्तै हो।’

विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सञ्चालन भइरहेका ठुल्ठुला आयोजनामा आयोजना प्रमुख उपसचिवसरह डिभिजन इन्जिनियर हुनुपर्नेमा इन्जिनियर (शाखा अधिकृत) सरहका कर्मचारीलाई निमित्त दिइएको छ। नियमानुसार आयोजना प्रमुखहरू उपसविचसरहका कर्मचारी हुन आवश्यक हुन्छ तर उपसचिवसरहका कर्मचारी नपुग्दा अथवा नखटाउँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शाखा अधिकृतसरहका कर्मचारीलाई निमित्त दिई खटाउने गरेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १० वटा ठुल्ठुला आयोजना निमित्तको भरमा चलेका छन्।

मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सञ्चालन भइरहेका ठुल्ठुला बजेट भएका आयोजनाहरू निमित्तका भरमा चलेको स्वीकार गर्दै भने, ‘खासगरी दुर्गम ठाउँमा आयोजनाहरू निमित्तको भरमा चलाउनुपर्ने बाध्यता छ। उपसचिवसरहका वरिष्ठ इन्जिनियरहरू दुर्गममा जान मान्दैनन्। गए पनि फर्किन्छन्। खाली ठाउँमा निमित्त पठाउनुपर्ने बाध्यता छ,’ उनले भने।

सिनियर इन्जिनियरहरू काठमाडौं लगायत सुगम ठाउँका आयोजनामा बस्ने प्रवृत्तिले दुर्गमका आयोजना निमित्तका भरमा चलेको उनको भनाइ छ।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले मन्त्रालले अह्राएको ठाउँमा आफूले काम गरेको बताए। ‘हामी सरकारी कर्मचारी हौं। सरकारले जहाँजहाँ खटाउँछ, त्यहाँ हामी जानुपर्छ,’ उनले भने।

सडक विभाग स्रोतका अनुसार कर्णाली करिडोर दक्षिण सडकखण्डमा चार अर्ब बजेट रूपैयाँ छुट्ट्याइएको छ। यस आयोजनामा अर्थले ठेक्का लगाउन सहमतिसमेत दिइसकेको छ।

यसैगरी अर्थले सेती राजमार्ग दक्षिण खण्डमा ४० करोड रूपैयाँमा ठेक्का लगाउन सहमति दिइसकेको छ। खुटिया दिपायल सडकमा एक अर्ब रूपैयाँको ठेक्का लगाउन अर्थले सहमति दिइसकेको विभाग स्रोतको भनाइ छ। यी आयोजना निमित्तले चलाएका छन्।

विभागका अनुसार सडक डिभिजन बैतडीमा लक्ष्मण दत्त जोशी, सडक डिभिजन, साँफेबगरमा नेत्रप्रसाद देवकोटा, सडक सुधार तथा विकास योजना कार्यालय दोलखामा ईश्वर कार्की, कर्णाली करिडोर उत्तरखण्ड (हिल्सा सिमिकोट सडक योजना)मा बेलबहादुर नेपाली, कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु सल्ली सल्ला सडक योजना)मा तुलाराम शर्माले निमित्त चलाएका छन्।

यसैगरी महाकाली कोरिडोर (चाँदनी गड्डाचौकी ब्रह्मदेव झुलाघाट दार्चुला तुषारपानी) सडक योजनामा दीपक सुनार, सेती राजमार्ग (उत्तरखण्ड) थामलेक चैनपुर ताक्लाकोट सडक योजनामा वीरेन्द्रकुमार यादव, सेती राजमार्ग (दक्षिण खण्ड) टीकापुर लोडे थामलेक सडक योजनामा वीरेन्द्रबहादुर चन्द, धनगढी (हसनपुर) खुटिया बिपी नगर गढशेरा तथा दिपायल सडक योजनामा लक्ष्मणबहादुर रावलले निमित्त चलाएका छन्।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका सञ्चालित आयोजनाहरू निमित्तको भरमा चलाइएकामा विभागका अर्का एक कर्मचारीले विभागको ध्यानाकर्षण गराएका छन्। उनले भने, ‘पूर्वी क्षेत्रतिरका दुर्गम ठाउँमा भन्दा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्रै निमित्त खटाइएको छ। यसमा विभागको विशेष ध्यान दिन आवश्यक छ।’ विभागसँग उपसचिवसरहका करिब १३५ जना उपसचिवसरहका कर्मचारीको दरबन्दी छ। करिब एक दर्जन जति उपसचिव सरहका कर्मचारी तत्कालै आवश्यक परेको विभागका अर्का एक कर्मचारीको भनाइ छ। नागरिक दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया