माघ २८, २०८१ सोमबार February 10, 2025

बैंक डुबाउँदै नक्कली भ्याट बिल प्रयोगकर्ता

नाफा कमाउनकै लागि नक्कली बिलहरू बिक्री र खरिदमा संलग्न अमयाले नक्कली ‘इन्भ्वाइस’को प्रयोग गरी कर छली गर्ने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज । व्यापारिक कम्पनीहरूमध्ये केही अर्थतन्त्रलाई नै ध्वस्त बनाउन कतिसम्म गिर्दा रहेछन् भन्ने तथ्य सतहमा आउन थालेको छ । आफ्नो नाफाका लागि अनैतिक तरिकाले भ्याट बिल प्रयोग गरी मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउन सीमाहद पार गर्ने गरेको कर्तुत सतहमा आएको हो ।

नक्कली भ्याट बिलधारीले अर्थतन्त्र सुस्त बनाउने अर्थविज्ञहरूको दाबी छ । राजस्वको सीमाक्षेत्र वीरगन्ज नबनाई अमया इन्टरप्राइजेज प्रालिको नामले सञ्चालित सो कम्पनीले आफ्नो नजिकका आफन्तका नाममा पनि व्यवसाय फर्म दर्ता गरी कारोबार गर्दै आएको र नक्कली भ्याट बिलबाट अवैध खरिद बिक्री गर्दै आएको पाइएको छ । व्यवसायलाई आर्थिक बल पु-याउन भनी सो कम्पनीले २५ करोड रुपैयाँसम्मको बैंक ऋण लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अमयाले नक्कली बिल खरिद–बिक्री गर्ने तरिका

विगत ३ वर्षदेखि नक्कली बिल खरिद–बिक्री गर्ने विधि प्रयोग गर्दै अमया इन्टरप्राइजेजले आफ्नो कारोबारलाई सक्कलीको खोल ओढाई ८० प्रतिशत कारोबार नक्कली गर्ने गरेको पाइएको हो । २० प्रतिशतको सक्कलीका भरमा बैंकबाट करोडौंको ऋण लिन सफल भएको र सो पैसाले आफूसँग मिलेमतो रहेका विभिन्न कम्पनीसँग नक्कली बिल खरिद गरेको खुलासा भएको छ ।

सो नक्कली बिलको भुक्तानी सो कम्पनीलाई गरेको पनि अनुसन्धानको प्रारम्भिक चरणमा खुलेको छ । भुक्तानीपश्चात सो कम्पनीलाई नक्कली बिल बिक्री गरेको प्रयोजनका लागि कारोबार भएको कुल रकमको १५ प्रतिशतसम्म दिएको र बाँकी ८५ प्रतिशत विभिन्न माध्यमबाट अमया इन्टरप्राइजेजकहाँ आएको पाइएको छ । अझ अमया इन्टरप्राइजेजको भारत तथा दुबईको ठेगानामा अवैध तरिकाले सो पैसा ट्रान्सफर भएको समेत बताइएको छ ।

भारत तथा दुबईमा अमया इन्टरप्राइजेजको नाममा रहेको कम्पनी तथा अन्य सूचना मात्र नभई ऋण लगानी गर्ने बैंकहरूलाई ऋण चुक्ता नगरी कम्पनीका सञ्चालक देश छोड्ने तरखरमा रहेको कुरा सतहमा आएको छ ।

अमया इन्टरप्राइजेजको कसुर

नाफा कमाउनकै लागि नक्कली बिलहरू बिक्री र खरिदमा संलग्न अमयाले नक्कली ‘इन्भ्वाइस’को प्रयोग गरी कर छली गर्ने गरेको भेटिएको छ । वीरगन्जका व्यावसायिक समुदायमा पनि यो कुरा चर्चामा छ । अमयाले आफ्नो राजस्व बुझाउने कार्यक्षेत्रचाहिँ वीरगन्ज नबनाएको समेत यहाँका एक व्यापारीले बताएका छन् ।

देशको राजस्व प्रणालीमा बाधा पु-याएर अर्थतन्त्रमा सुस्तता थप्ने यस्तै कारोबारीले गर्दा राम्रो काम गर्ने अधिकांश व्यापारी पनि बद्नाम हुनुपरेको ती व्यापारीको भनाइ छ ।

अवैध रूपमा नक्कली भ्याट ‘इन्भ्वाइस’हरू प्रयोग गरी कर छलेको कसुर दण्डनीय अपराध भएको अर्थविज्ञहरूको भनाइ छ । निर्माण सामग्री आपूर्तिकर्ताहरूमध्ये अधिकांशबाट अमयाको साथ पाएको अर्का व्यापारीले दाबी गरे । यस्तो कर्तुत गर्नेले दर्ता कम्पनीका विभिन्न खाता प्रयोग गरी विभिन्न पक्षबाट भुक्तानी लिने गरेको र मुख्य उद्देश्य नक्कली बिलहरूको खरिद–बिक्रीलाई समर्थन गर्न जुटेको हुन सक्ने समेत उनले बताए ।

आर्थिक वर्ष २०७९–०८० मा अमया इन्टरप्राइजेजलाई नक्कली बिजक उपलब्ध गराउने कम्पनीको सूचीको प्रतिलिपि पनि प्राप्त भएको छ । जसमध्ये काठामाडौंको शुभ गणेश एक्जिम प्रालि, अथर्व सप्लायर्स प्रालि, अरब ट्रेड एन्ड इन्टरनेसनल प्रालि तथा वीरगन्जका न्यू नेहा ओभर्सिज, श्री राधाकृष्ण इन्टरप्राइजेज, किरण ट्रेड ओभर्सिज, निभम एक्जिम सम्लायर्स प्रालि रहेको खुलेको छ ।

अमयाका सञ्चालक अमित अग्रवालले यस विषयमा बुझ्न खोज्दा आफू वीरगन्जको व्यापारी पनि नभएको, आफू जीतपुरको व्यापारी भएको र अन्य कुरा केही थाहा नभएको बताए ।

के छ कानुनी कारबाहीको प्रावधान ?

नक्कली भ्याट बिलको प्रयोग र राजस्व छलेको पुष्टि भएमा दण्ड जरिमाना मात्र नभई जेलसम्मको सजाय हुने उल्लेख छ । राजस्व छलेको पाइएमा (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोजिम कसुर भएको खण्डमा सोही ऐनको दफा २(छ) १ आकर्षित हुने जनाइएको छ । आव २०७७÷०७८ सम्मको अवैध (लुज) बिलबाट कायम गरिएको बिक्रीतर्फको कायम कुल विगो न्युन मौज्दाततर्फ कायम विगो तथा अधिक मौज्दाततर्फ कायम भएको समेत गरी जम्मा विगो कायम गरी प्रतिवादीबाट अधिक मौज्दातमा भएका मालवस्तुको हुन आउने थोक मूल्य घटाउँदा हुन आउने राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा २३(१) बमोजिम विगो असुल गरिनेछ । सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शतप्रतिशत जरिमाना तथा दफा २३(१)(ग) बमोजिम हदैसम्मको ३ वर्षसम्म कैद सजायको मागदाबी गर्न सकिने व्यवस्था पनि रहेको पनि पाइएको छ ।

साथै, ५० लाख रुपैयाँसम्म विगोमा ६ महिनासम्म, १ करोड विगोमा १ वर्ष, ३ करोड विगोमा ३ वर्ष, ३ करोडभन्दा माथिको विगोमा ५ वर्षसम्म कैदको व्यवस्था पनि रहेको राजस्व विभागले जनाएको छ । वस्तु तथा सेवा बिक्री भइसकेको अवस्थामा वस्तु तथा सेवाको विगोबराबरको रकम असुल गरिने विधेयकमा व्यवस्था गरिएको छ ।

मतियारलाई सजायको व्यवस्था

राजस्व चुहावटको कसुरको मतियारलाई मुख्य अभियुक्तलाई हुनेभन्दा आधा सजाय हुनेछ । यसअघि सो दफामा बढीमा ३ वर्षसम्म कैद र विगो जरिमाना दोब्बर गर्न सकिने व्यवस्था थियो ।

यस्तै कुनै फर्म, कम्पनी वा संगठित संस्था वा निकायले यस ऐनबमोजिम कसुर मानिने कुनै काम गर्दाको बखत संलग्न हिस्सेदारहरू र कम्पनीको वा संगठित संस्थाको हकमा कम्पनी वा यस्तो संस्था मुख्य भई काम गर्ने अधिकारीले यस्तो कसुर गरेको मानिने उल्लेख छ । यसले कुनै कम्पनीमा काम गर्ने व्यक्ति राजस्व चुहावटमा संलग्न भएमा निजलाई समेत कारबाही हुने व्यवस्था छ ।

सम्पत्ति शुद्धीकरण (रोकथाम) ऐन, २००८ ले व्यापक कानुनी कारबाहीका लागि उपायहरू दिएको छ । ‘मनी लाउन्ड्रिङ’ र आतंकवादको वित्त पोषणविरुद्ध कारबाही ऐनले कमाइलाई अपराधीकरण गरेको छ । कर छलीबाट प्राप्त आम्दानी प्राप्त गर्ने, राख्ने कब्जा गर्ने, संलग्नता वा उपभोग गर्ने, आतंकवादी गतिविधि र अन्य अपराधमा संलग्न रहेको देखिएमा नेपाल सरकारले सम्पत्ति फ्रिज गर्न वा नियन्त्रणमा लिन सक्छ भनिएको छ । यस ऐनअन्तर्गत नेपालले कूटनीतिक माध्यमबाट विदेशी राज्य वा अन्तर्राष्ट्रिय संस्थालाई सो सम्पत्ति फ्रिज गर्न अनुरोध गर्न सक्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।

‘क्रसचेक’ गर्न सहज छ

अमयालगायतका अन्य कुनै पनि कम्पनीले नक्कली बिल बनाउँदा भीसीटीएस (भेहिकल एन्ड कन्साइनमेन्ट ट्राकिङ सिस्टम)को दुरुपयोग गर्ने गरेको अनुसन्धानबाट पत्ता लगाउन सकिन्छ । बिलसम्बन्धी कसुरलाई पुष्टि गर्ने सजिलो तरिका भीसीटीएस सिस्टममा मिल्छ । जस्तै– भ्याट बिल बनाउँदा भीसीटीएसको विवरण राख्नुपर्ने बाध्यता रहेको हुन्छ । जसमा ट्रकको नम्बर, लाइभ लोकेसन, सवारी चालकको नाम, मोबाइल नम्बर, कन्साइनमेन्ट लोड गरेको मिति, ठेगाना आदि रहेको हुन्छ ।

साथै, कुनै ट्रक कुनै मितिमा एक स्थानमा नरहेको तर त्यही मितिमा सो स्थानमा भीसीटीएसमा आबद्ध हुँदा नक्कली बिलको प्रयोग भएको सम्भावना रहने कुरा खुल्छ । राजस्व अनुसन्धान विभागबाट कम्पनीले प्रयोग गरेको ट्रक नम्बरको ‘मिसम्याच’ रिपोर्टमार्फत यो विषय बुझ्न सकिने प्रावधान नहुने भन्ने हुँदैन । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया