चैत्र १३, २०८१ बुधबार March 26, 2025

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फाल्गुन ४ गते

भेलापूर्व  आजै शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकिकृत समाजबादी पार्टी सम्बद्ध समाजवादी प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला फागुन ४ गते हुने भएको छ ।

प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि ‘विचारमा स्पष्ट : पेसामा दक्ष’ भन्ने नारासहित आयोजना गर्न लागिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आवद्ध करिब दुई सय पचास पत्रकार सहभागी हुने बताइएको छ ।

आइतबारको भेलामा ‘जिम्मेवार पत्रकार , समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम/ प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ ।

भेलापूर्व  आज शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक पनि बस्दै छ । ‘अग्रजको सम्मान,युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ ।

भेलाको पूर्वसन्ध्यामा सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीका अध्यक्षतामा शुक्रबार आयोजित सङ्गठन पदाधिकारी तथा सल्लाहकार बैठकमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सङ्गठन इन्चार्ज प्रकाश ज्वालाले संस्थालाई श्रमजीवी पत्रकारका समस्या, जनजीविका, राष्ट्रियताका विषय निरन्तर उठाउन तथा विद्यमान चुनौतीको मुकाबिला गर्दै समाजवाद प्राप्तिको अभियानमा दृढतापूर्वक पत्रकारिता गर्न आग्रह गर्नुभयो।

सङ्गठनका सहइन्चार्ज शम्भु श्रेष्ठ तथा पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्याल र चमिना भट्टराईले विचारमा चट्टान जस्तो उभिएर गुणस्तरीय पत्रकारिता गर्दै सङ्गठन सुदृढ गर्न समाजवादी पत्रकारहरूसँग अनुरोध गर्नुभयो ।

बैठकमा कार्यवाहक महासचिव प्रेम गौतमले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेकामा सुझावसहित पारित गर्नुभयो ।

२०७८ भदौ १० मा स्थापना भई सोही साल मङ्सिर ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको सङ्गठनको २०८० जेठ २७ र २८ मा भएको पहिलो महाधिवेशनले वर्तमान कार्यसमिति चयन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया