काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारले ल्याएको विभिन्न अध्यादेशको विपक्षमा उभिने निष्कर्ष निकालेको छ । संसद्मा अध्यादेश निर्णयार्थ पेस भए त्यसको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने कार्यविधि र अन्तरवस्तु गलत र हानिकारक रहेको निष्कर्ष निकाल्दै त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।
सरकारले पछिल्लो समय ल्याएको अध्यादेशबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष छ ।
‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ त्यसैले हाम्रो पार्टीले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले भने ।
सरकारले पछिल्लो समय बलमिचाइँ गरेर ल्याएको अध्यादेशले दूरागामी असर पार्ने प्रवक्ता ज्वालाले बताए । ‘अध्यादेशहरू एकातिर प्रक्रिया मिचेर ल्याइएको छ, संसद् अधिवेशनको संघारमा अध्यादेश ल्याउनु यसै पनि गलत कुरा थियो, संसदीय समितिमा विचाराधीन रहेका, छलफल भइरहेका विधेयकहरूसमेत फिर्ता नलिएरै बलमिचाइँ गरेर अध्यादेश ल्याइएको छ,’ ज्वालाले भने, ‘प्रक्रियागत रूपमा पनि यो गलत छ, यसका अन्तरवस्तुहरू झन् हानिकारक छन्, दूरागामी रूपमा नकारात्मक असर पार्ने खालका छन् ।’
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका एजेन्डा पारित गर्दै पोलिटब्युरो र केन्द्रीय कमिटीमा थप छलफल गर्ने निर्णय गरेको छ ।
पोलिटब्युरोको बैठक आज (बुधबार) र केन्द्रीय कमिटीको बैठक भोलि (बिहीबार) बस्दै छ । महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।
एकीकृत समाजवादीले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र नेपाली विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्रावासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।
यसैगरी, स्थायी कमिटीको बैठकले पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन कार्यक्रममा बेलुन विस्फोट भई घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यलगायतको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया