चैत्र १२, २०८१ मंगलबार March 25, 2025

केआईआईटीबाट धमाधम फर्कँदै नेपाली विद्यार्थी, वीरगञ्जबाट १५६ र रानी नाकाबाट ८३ फर्के

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट कुटपिट गरी निकालिएका मध्ये १ सय ५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्। यस्तै विराटनगरको रानी नाकाबाट ८३ जना फर्केका छन्।

बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १ सय ५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेको मिश्रले बताए।

वीरगन्जको इनर्वा नाका हुँदै १ सय ५३ जना र अलौंनाका हुँदै तीन जना विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताए। तीमध्ये छात्रा २७ जना र छात्र १ सय २९ जना छन्। वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका विद्यार्थी पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरी उपरीक्षक मिश्रले बताए। वीरगन्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको प्रहरी उपरीक्षक मिश्रले बताए। मिश्रले भने, ‘टाढा घर भएकाहरूलाई प्रहरीसमेतको सहयोगमा गाडी व्यवस्थापन गरेर गन्तव्यसम्म पठाइएको छ। केहीका भने आफन्त नै आएर साथमा लिएर गएका छन्।’

ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गर्दै होस्टेल (छात्रावास) बाट निकालेको थियो।

कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएको विद्यार्थीले बताएका छन्। बुधबार वीरगन्जको इनर्वा नाका हुँदै आएका वीरगन्ज–१५ ब्रह्मचोकका छात्र पिन्टु यादवका अनुसार केआईआईटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । केआईआईटी कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले ‘आफ्नै देशकी चेलीको शंकास्पद मृत्यु’ को छानबिन हुनुपर्ने माग राखेर आन्दोलन गर्र्दा कलेज प्रशासनले गुन्डा लगाएर निर्घात कुटपिट गरेको बताए।
.
उनले भने, ‘कुटपिट मात्र गरेन, राति होस्टेलमा कलेजले गुन्डाहरूलाई पठाएर सबै नेपाली विद्यार्थीलाई तत्काल कलेज र होस्टेल छाडन धम्की दिइयो,’ उनले भने, ‘ज्यान नै असुरक्षित भएपछि रातारात कलेज छाडेर निस्कनु पर्‍यो।’ सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आफूहरू कलेज नफर्किने उनले बताए। उनले भने, ‘कलेजमा नेपाली विद्यार्थीमाथि जुन ज्यादती भयो त्यो सम्झिँदा त अब फर्केर जाने हिम्मत नै आएको छैन। फेरि जाँदा कलेजले पुरानै रिस पोखेर हामीमाथि जे पनि गर्न सक्छ भन्ने डर छ।’

यस्तै, विराटनगरको रानी नाका हुँदै केआईआईटीमा अध्ययनरत ८३ जना विद्यार्थी नेपाल फर्किसकेका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रानी नाका भएर नेपाली विद्यार्थीहरू मंगलबारदेखि नै घर फर्किन थालेको जानकारी दिए। बिहीबार बिहानसम्ममा ८३ जना फर्किएको जानकारी यादवले दिए।

विद्यार्थीहरूले आफूहरूलाई कुटपिट गरेर निकालिएका कारण असुरक्षित महसुस भएर घर फर्किएको बताएका छन्। भुवनेश्वरदेखि रेल र सडकमार्ग हुँदै रानी नाकाबाट स्वदेश आइपुगेका विद्यार्थीलाई आआफ्नो घरतर्फ पठाइएको प्रजिअ यादवले बताए।

उनका अनुसार रानी नाकाबाट आएकामध्ये सबैभन्दा बढी मोरङका ४१ जना छन्। सुनसरीका १५, सप्तरीका १४, सिरहा र काठमाडौंंका ३–३, सर्लाही र धनुषाका २–२ तथा ललितपुर, उदयपुर र झापाका १–१ जना फर्किएको जानकारी यादवले दिए।

नेपाल फर्किएका विद्यार्थीहरूलाई आआफ्नो घरतर्फ जानका लागि सहजीकरण गर्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार सीमा क्षेत्रमा विद्यार्थीको सहजीकरणका लागि नेपाल र सशस्त्र प्रहरी तैनाथ छन्। खर्चको अभाव भएकाहरूलाई प्रहरीले आफैं गाडी व्यवस्थापन गरेर विराटनगर बसपार्कसम्म ल्याइदिने गरेको छ। बसपार्कबाट भने यातायात व्यवसायीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाउने गरिएको जानकारी एसपी चिमरियाले दिए। उनका अनुसार सबैभन्दा धेरै विद्यार्थी बुधबार नेपाल फर्किएका थिए। बुधबार एकैपटक ७२ जना नेपाल फर्किएका हुन्।

मंगलबार ३ जना र बिहीबार बिहान ८ जना फर्किएको जानकारी चिमरियाले दिए। ओडिसाको केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्साल गत आइतबार मृत फेला परेकी थिइन्। लम्सालको मृत्यु शंकास्पद रहेको भन्दै न्यायिक छानबिनको माग राखेर त्यहाँँ अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी उनको शव बुधबार राति रूपन्देही ल्याएर सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ।

सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अडिकश्रीवास्तवले दिने गरेको मानसिक यातनामा कलेज प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको विषय बाहिर आएको छ। प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। कलेज प्रशासनले निर्घात कुटपिट गर्दै होस्टेल (छात्रावास)बाट निकालेपछि उनीहरू कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किन बाध्य भएका हुन्। तर, नेपाली विद्यार्थीको आन्दोलनमा भारतीय विद्यार्थीले समेत साथ दिएका थिए।

घटनापछि विश्वविद्यालयले विद्यार्थीमाथि गरेको गलत व्यवहारको नेपाल र भारतमा आलोचना एवं विरोध भइरहेको छ। उक्त विश्वविद्यालयमा करिब १ हजार ८ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। नेपाल प्रवेश गर्ने विद्यार्थीहरूले सँगै पढ्ने साथीको शंकास्पद मृत्यु छानबिनको माग राखेर आन्दोलन सुरु भएपछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गरेको बताएका छन्।

तत्काल कलेज तथा होस्टेल छाडेर जान धम्कीसमेत दिइएको थियो। दमनका कारण असुरक्षित महसुस गरेर नेपाल फर्किनु परेको उनीहरूको भनाइ छ। न्याय माग्दा असुरक्षित भएकाले मध्यरातमा कलेज छाडेर निस्कनु परेको गुनासो विद्यार्थीहरूले गरेका छन्।

कलेज प्रशासनले धेरै ज्यादती गरेको भन्दै उनीहरूले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आफूहरू कलेज नफर्किने बताएका छन्। ओडिसामा अध्ययनरत नेपाली विद्यार्थीहरू विराटनगरको रानीसहित मुलुकका विभिन्न नाका हुँदै नेपाल फर्किरहेका छन्। नेपाल फर्किएका विद्यार्थीलाई स्थानीय प्रशासनले सीमानाकामा सहजीकरण गरिरहेको छ। अन्नपुर्ण पोष्ट दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया