चैत्र २, २०८१ शनिबार March 15, 2025

अण्डाको मूल्य थपघट हुँदा उत्पादक र उपभोक्ता मारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनको कार्यान्वयनमा सकस हुँदा उत्पादक नै मारमा परेका छन् ।

नेपाल लेयर्स कुखुरापालक संघका कारण अण्डा उत्पादक मारमा परेका हुन् । अण्डासँगै दानाको पनि व्यापार गर्ने सीमित व्यापारीले मूल्य घटबढ बनाउँदा अण्डा उत्पादन गर्ने उत्पादक मर्कामा पर्ने गरेका हुन् ।

संघले बेलाबेलामा अण्डाको मूल्य बढाउने सूचना बिचौलियासँग पुग्ने भएका कारण सस्तो मूल्यमा अण्डा लिएर होल्ड गर्ने बढाएपछि बेच्ने गरेको अण्डा उत्पादकहरूले बताएका छन् । संघ एक हुँदा मनोपोली हुने गरेको छ । यसले गर्दा प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनको कर्यान्वयनसमेत हुन सकेको छैन । यस्ता कार्यले मुख्य उत्पादक मर्कामा पर्ने गरेको उपभोक्तावादीले बताएका छन् ।

हप्ता दिनअगाडि घटेको अण्डाको मूल्य पुनः माघ २२ गते बढेको छ । संघले कृषकले १३ रुपियाँ पाउने गरी पुनः मूल्य बढाएका हुन् । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । उहाँका अनुसार न्यूनतम प्रतिक्रेट १५ रुपियाँदेखि अधिकतम ३० रुपियाँका दरले अण्डाको मूल्य बढाइएको छ । मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रुपियाँ पर्ने भएको छ । यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रुपियाँ थियो ।

संघका पदाधिकारी र बिचौलियाको सेटिङमा बेलाबेलामा अण्डाको मूल्य तलमाथि बनाइने गरिएको उपभोक्तावादीले बताउने गरेका छन् । उपभोक्तावादी माधव तिमल्सिनाले सरकारको भूमिका कमजोर देखिँदा व्यापारीले उपभोक्ता ठग्ने गरेको बताउनुभयो । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले कृषक–थोक–सबडिस्ट्रिब्युटर–साइकलवाला–पसल गरी चार तह पार गरेपछि उपभोक्ताको भान्सामा अण्डा पुग्ने गरेको बताउनुभयो । संघका अध्यक्ष पोखरेललाई तह धेरै भएन भनी नेपाल समाचारपत्रको प्रश्नमा तह धेरै नभएको बताउनुभयो । अण्डामा अहिले एकमात्र कृषकहरूको उत्पादक संघ रहेको पनि अध्यक्षले जानकारी दिनुभयो ।

प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनमा बजारलाई प्रभाव गर्ने गरी एकाधिकार गर्ने तरिकाले समूह बनाई मूल्य तोक्न नपाइने व्यवस्था छ । ऐनको प्रस्तावनामा एकाधिकार तथा नियन्त्रित व्यापारिक अभ्यासलाई नियन्त्रण गरी उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गराई प्रतिस्पर्धा मूल्यमा उपभोक्तासमक्ष पु¥याउने काममा प्रोत्साहन गर्नुपर्ने भनिएको छ । तर, अहिले बजारमा व्यापारी मिली सामूहिक रूपमा मूल्य तोक्ने गरिएको छ । उपभोक्ता संरक्षण ऐनमा उत्पादकले आफूले मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । त्यस ऐनको गलत अर्थ लगाई कृषकहरूको संगठन खुले पनि माथिल्लो तहका केही सीमित व्यक्ति मिलेर माग र पूर्तिको बहाना बनाई मूल्य तलमाथि बनाइने गरिएको छ । जुन सक्कली कृषकलाई भन्दा बिचौलियालाई फाइदा हुने गरेको देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनले समूह बनाई मूल्य वृद्धि गर्न नपाइने बताउनुभयो । उहाँले प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भएको बताउनुभयो । मन्त्रालयका अनुसार विभागले नै यस्ता संगठनहरूलाई कारबाही गर्नुपर्ने जनाएको छ । तर, बजारमा यस्ता संस्थाहरू खुलेयाम बैठक गरेर मूल्य बढाइरहेको प्रस्टै देखिने गरेको छ ।

अण्डामा कसरी ठगिन्छन्, उपभोक्ता

अण्डाको तौलअनुसारको मूल्यभन्दा पनि पसलेले बनाएको साइजमा विश्वास गर्नुपर्ने बाध्यता रहेको छ । अण्डामा उत्पादन र म्याद सकिने मिति नहुँदा उपभोक्ताले पुराना अण्डा लिनुपर्ने बाध्यता रहेको छ ।
बजारमा लोकल अण्डा भनी व्यापारीले कम मूल्यको सेता रङका कम मूल्यका अण्डा बेचिरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया