चैत्र १२, २०८१ मंगलबार March 25, 2025

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समय सडकदेखि संसद्सम्म राजसंस्था पुनःस्थापना र पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने’बारेमा बहस चर्किंदै गएको छ । राजासंस्था पक्षधरले सडक आन्दोलनसँगै संसद्मा समेत संवैधानिक राजतन्त्रको वकालत गर्न थालेपछि गणतन्त्रवादी नेताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा यस ’बारेमा चर्काचर्की बहस भएको छ । संविधान र गणतन्त्र जोगाउँन गणतन्त्रवादी राजनीतिक दलले सडक आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । यस्तै राजतन्त्र पक्षधरले राजा फर्काउन सडक आन्दोलनसँगै संसद्मा समेत आवाज उठाउन थालेका छन् ।

विपक्षी दलका नेताहरूले गणतन्त्रको विरोध हुनुमा वर्तमान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । सरकारको कमजोर कार्यशैलीका कारण अहिले राजतन्त्र पक्षधरले आवाज उठाउन थालेको निष्कर्ष विपक्षी दलको रहेको छ । उनीहरूले संसद्मै सरकारलाई आरोप लगाउन थालेका छन् ।

बैठकमा सांसदहरूले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए । सो क्रममा उनीहरूले व्यवस्थाविरोधी शक्ति सल्बलाउनुमा सरकारको अक्षमता जिम्मेवार रहेको आरोप लगाए । साथै उनीहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताए । राजावादीको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताउँदै प्रचण्डले भने, ‘राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

प्रचण्डले राजावादीले राजतन्त्रको ’बारेमा सडकमै आवाज उठाउनुको कारण वर्तमान सरकारकै कमजोरी रहेको बताए । यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने भन्ने प्रश्न गर्दै उनले भने, ‘बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् ।’

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उदारतालाई कमजोरी नठान्न चेतावनसमेत दिए । उनले गणतन्त्र घोषणा गर्दा शाहलाई निर्वासनसहित नतोकी तत्कालका लागि सुरक्षित ठाउँ दिइएको बताए । ‘उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ,’ उनले भने । प्रचण्डले अहिलेचाहिँ चलखेल कसरी बढ्यो भन्ने मुख्य प्रश्न रहेको बताए ।

‘यस खालका चलखेल आज मात्रै भएका होइनन् । हिजो पनि थिए । अहिलेचाहिँ यो अचनाक किन वृद्धि भयो ?’ उनले प्रश्न गरे । उनले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताए । ‘सार्वभौम भइसकेको जनता रैती हुन्छन् भन्ने सोचियो भने त्योभन्दा ठूलो भ्रम केही होइन,’ उनले भने ।

यस्तै, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी गंगामा धोएको आरोप लगाएका छन् । ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैलो लोकतन्त्रमा देखियो । हामी सबैले आत्मसमीक्षा गरेर जवाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिए’, उनले भने ।

प्रचण्डले सत्तारूढ पार्टीका कार्यकर्ताले बर्दीधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सरकारले यो गर्दै छ भन्ने सुने पनि सरकारको दुईतिहाइको घोडा सरकार र मन्त्रीले नचलाएको भन्दै त्यो घोडा बिचौलियाले चलाएको आरोपसमेत लगाए ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन दलबीच सहकार्य आवश्यक रहेको बताए । कांग्रेस संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार उनले बताए ।

अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिनुपर्नेमा उनले बताए । ठूलो संख्यामा युवा सडकमा उत्रिनु व्यवस्थाविरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने बताए । ‘नागरिक तहमा असन्तुष्टि छ, आक्रोश छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ, बेवास्ता गर्नुहुँदैन,’ उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भए पनि दलप्रति घृणा फैलाउने काम गर्न नहुने बताउँदै उनले भने, ‘हामीले आलोचना गर्नुपर्छ, प्रश्न उठाउनुपर्छ तर लोकतन्त्रलाई कमजोर पार्ने गरी द्वेष फैलाउनु हुँदैन ।’

सत्तारूढ दल कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउनेतर्फ केन्द्र सरकार उदासीन रहेको आरोप लगाए । ‘हामी आफैंले प्रदेशलाई अधिकार नदिएर कमजोर बनाएका हौं । कानुन निर्माण नहुँदा प्रदेश सरकार अक्षमजस्तै बनेका छन्,’ उनले भने । थापाले लोकतन्त्रमा नागरिक सर्वोपरि हुने भएकाले सबै दललाई संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा पहल गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले लोकतन्त्रबिना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताए । उनले राजा फर्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए । ‘समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन,’ विष्टले भने । अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।

जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढंगले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए । लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले शहीदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न आवश्यक रहेको उनले बताए ।

विष्टले युवामा आस जगाउने गरी तीव्र ढंगले विकास हुन नसकेको बताए । तर देशमा केही भएकै छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सरकार जनताप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए । ‘सरकारले जनताको मन जित्ने गरी काम गर्न सकेकै छैन । भ्रष्टाचार गर्नेलाई कारवाही गर्न सकेको छैन् । सार्वजनिक संस्थाहरू घाटामा छन् । तर, नाफामा पु¥याउने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गराउने काम किन भइरहन्छ ?’ उनले प्रश्न गरे ।

दाहालले नेपालमा राजसंस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको घोषणा भई संघीय लोकतन्त्रको अभ्यासमा उभिएको बताए । ‘सरकारलाई खबरदारी गर्न प्रतिपक्षी दलहरू एकै ठाउँमा छौं । भ्रष्टाचार नियन्त्रणको मुद्दालाई केन्द्रमा राखेर सुशासन कायम राख्न लागिपरेको छौं । सरकार जनताप्रति जिम्मेवार बन्न सकेको छैन,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्तिविशेषको बक्सिस नभई, नेपाली जनताले रगत साटेर प्राप्त गरेको उपलब्धि भएको स्पष्ट पारे । उनले सुशासनको अभाव, संस्थागत भ्रष्टाचार र प्रशासनिक पक्षपातका कारण जनतामा वर्तमान व्यवस्थाप्रति निराशा बढ्दै गएको उल्लेख गरे ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति जुट्नुपर्ने बताइन् । उनले विद्यमान प्रणाली आफैंमा दोषी नभएको तर यसलाई सञ्चालन गर्ने व्यक्ति जिम्मेवार नहुँदा प्रश्न उठेको बताइन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको आरोप लगाए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधानविपरीतका गतिविधि भइरहेको बताए । बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र वा निरंकुशतन्त्र हुन नसक्ने भन्दै संग्रहालयमा थन्किएको राजतन्त्रले मुलुकमा शासन चलाउने सपना देख्ने वा देख्न लगाउने काम स्वीकार्य नभएको बताए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि नै प्रश्न गरेका छन् । यादवले राजावादीहरू सलबलाउनुमा ठूला दलका नेताहरूको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ।

सत्ता र प्रतिपक्षी दलका नेताहरूले संसद्मा बोल्दा एकअर्काप्रति आरोप÷प्रत्यारोप र रोइलो गरेको उनले टिप्पणी गरे । ‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो । सत्ता पक्षका होनाहार नेताहरूका कुरा पनि सुनियो । यो सदनको बहस सुन्दा यो बहस नभएर, जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो । मलाई लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘कुराका लागि कुरा मात्र गर्ने हो भने एक जना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्यसत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पूरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो ।’

यादवले यो स्थिति आउनुमा आफूहरूका व्यवहार जिम्मेवार रहेकामा समीक्षा गर्न उनले प्रमुख दलका नेताहरूलाई सुझाव दिए । ‘एकचोटि आफूले रजगज गरेका, आफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरूलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो कि ?’, उनले भने, ‘मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ ।’

राप्रपाकी सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन् । कार्कीले गणतन्त्रवादीहरूलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायल मात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको चेतावनी दिइन् ।

‘एक जना मित्रले भूत देख्नुभएछ । लेलिनको भूत हो कि माओवादीको भूत ? उहासँग प्रश्न गर्न चाहन्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रायल मात्र हो । अरू जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरू थपिएभने जुन भीड आउँछ । त्यो देखेर नआँत्तिनुहोला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला,’ उनले भनिन् ।

सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्वराजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्, ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो, बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।’

राप्रपाका अर्का सांसद ध्रुवबहादुर प्रधानले नागरिकले पूर्वराजाको पक्षमा आवाज उठाइरहेको र अहिलेको स्थितिले सरकारको असक्षमता उजागर गरिरहेको बताए । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनता लोकतन्त्रको नाममा चलिरहेको नेतातन्त्रको विरोधमा रहेको बताएका छन् । उनले नेपाली जनता लोकतन्त्रप्रेमी रहेको पनि दाबी पेस गरे ।

‘आज नेपालमा लोकतन्त्र छैन । नेतातन्त्र छ । नेताहरूको संरक्षणमा सबै बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन् । म प्रश्न गर्न चाहन्छु–त्रिभुवन विश्वविद्यालयमा रेक्टरको कोठामा राजावादीले गएर कोठा तोडफोड गरेको छ कि कांग्रेस र एमालेका कार्यकर्ता गएर तोडेको छ ? अहिले भर्खरै एउटा महामन्त्री (गगन)को उपदेश यो संसद्मा सुनिरहेको थिएँ, उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा २ सय, ३ सय गाडी लिएर कहिले सिमरा पुग्नुहुन्छ, कहिले सिन्धुली पुग्नुहुन्छ, त्यो लोकतन्त्र हो ? बिचौलिया, दलाल र तस्करले मात्रै २ सय गाडीको व्यवस्था गर्न सक्छ, कुनै नेपाली जनताले गर्न सक्दैन् । त्यसकारण लोकतन्त्रको खतरा यस्ता महामन्त्रीबाट छ । खतरा यस्ता दलपतिबाट छ,’ सिंहले भने ।

के जनताले कुलमानलाई दुःख दिन भनेर भनेको छ त ? भनेर पनि उनले प्रश्न गरे । उनले प्रश्न गरे, ‘जनताले भनेको छ त त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने ? जनताले भनेको छ त ललिता निवासको कब्जा गर्ने ? लोकतन्त्रको नाममा जुन १८ वर्ष जसले जसले विभिन्न पदमा गएर लुटेको छ, उनीहरू लोकतन्त्रको रक्षाका लागि फस्टलाइनमा आउनुहोस् ।’ राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया