काठमाण्डौः माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा ३ खर्ब ५० अर्ब ७ करोड १५ लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत गरेर सो नगद मौज्दात रहेको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ८३ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ को सात महिनामा नेपाल सरकारको कुल खर्च ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । चालू खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ, पँुजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ सय ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
माघ मसान्तसम्म विनियोजित बजेटमध्ये जम्मा ७ खर्ब ५४ अर्ब ८५ रुपैयाँ मात्र खर्च गरेको सरकारमाथि बाँकी ५ महिनामा ११ को हाराहारी बजेट खर्च गर्नुपर्ने चुनौती रहेको छ । सरकारले बजेटमार्फत १८ खर्ब ६० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।
यो आर्थिक वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँबराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक वर्ष अन्त्यसम्म १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ मात्र खर्च हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ । अर्थमन्त्रीको भनाइलाई मात्र आधार मान्ने हो भने पनि फागुनदेखि असारसम्ममा ९ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
तर, फागुनको अन्तिम समयसम्म आइपुग्दा पनि सरकारको कुल विनियोजित बजेटमध्ये जम्मा ७ खर्ब २८ अर्ब ३९ करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । हालसम्ममा जम्मा ४४ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनासम्ममा प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर नेपाल सरकारको कुल राजस्व परिचालन ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ५ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ र गैरकर राजस्व ७७ अर्ब २१ करोड रुपैयाँ परिचालन भएको छ ।
प्रदेश सरकारहरुको कुल खर्च पनि ५१ अर्ब ९० करोड रुपैयाँ मात्र रहेको छ । स्रोत परिचालन १ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ८० अर्ब ९४ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
७ महिनमा चालू खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ, पँुजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा विस्तृत मुद्राप्रदाय ४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो मुद्राप्रदाय ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १० दशमलव १ प्रतिशतले बढेको छ ।
विस्तृत मुद्राप्रदाय भनेको संकुचित मुद्राप्रदाय, बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल हो । यसैगरी, खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योगफलबाट पनि विस्तृत मुद्राप्रदाय प्राप्त गर्न सकिन्छ ।
कुनै अर्थतन्त्रमा निश्चित समयबिन्दुमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पूर्ण तरल सम्पत्तिको योगफललाई नै मुद्रा प्रदाय–मनी सप्लाई) भनिन्छ ।यसअन्तर्गत मुख्यतः सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप रहेको हुन्छ । त्यसकारण मुद्राप्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम भएको निक्षेपको कुल योगफल हो ।
माघ महिनासम्ममा खुद वैदेशिक सम्पत्ति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँ (१४ दशमलव ३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो सम्पत्ति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ (२० दशमलव ४ प्रतिशत) ले बढेको थियो ।
यसैगरी सञ्चित मुद्रा ३ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १ दशमलव ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा सञ्चित मुद्रा ९ दशमलव ९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा कुल आन्तरिक कर्जा १ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा सो कर्जा ३ दशमलव २ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको छ ।
७ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड रुपैयाँले बढेको थियो ।
माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५ दशमलव २ प्रतिशत, ३४ दशमलव ८ प्रतिशत र ५२ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६ दशमलव २ प्रतिशत, २७ दशमलव ४ प्रतिशत र ५९ दशमलव ८ प्रतिशत रहेको थियो । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया