बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

एसईईमा ४ जीपीए ल्याउनेलाई पालिकाद्वारा एक लाखसम्मको पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बारपाक सुलिकोट र सहिद लखन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

पालिकाका विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई बारपाक सुलिकोटले १ लाख र सहिद लखनले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । दुवै पालिकाले उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीलाई पनि प्रोत्साहनस्वरूप पुरस्कार दिने भएका छन् ।

बारपाक सुलिकोटले ३.९० देखि ३.९९ जीपीए ल्याए ५० हजार, ३.८० देखि ३.८९ भए २५ हजार, ३.७० देखि ३.७९ प्राप्त गरे २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याए १५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । गत २५ माघको कार्यपालिका बैठकले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने निर्णय गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । ‘विद्यार्थीले मिहिनेत गरून्, प्रोत्साहन मिलोस् भनेर पुरस्कार घोषणा गरेका हौं,’ उनले भने ।

शिक्षाको गुणस्तर सुधारका लागि पुरस्कारलाई आगामी वर्ष पनि निरन्तरता दिइने भट्टले जानकारी दिए । ‘पुरस्कारले विद्यार्थीको मनोबल बढ्छ, लगनशील भएर पढ्छन् भन्ने हाम्रो विश्वास छ,’ उनले भने । बारपाक सुलिकोटका १० माविबाट नियमिततर्फ २ सय ९८ र ग्रेडवृद्धितर्फ ७३ गरी ३ सय ७१ विद्यार्थी एसईईमा सहभागी छन् ।

सहिद लखन गाउँपालिकाले कक्षा १२ मा ४ जीपीए ल्याउनेलाई पनि ५० हजार दिने भएको छ । कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउनेले भने १० हजार पाउनेछन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालका अनुसार ३.९० देखि ३.९९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ४० हजार र कक्षा ८ का विद्यार्थीलाई ८ हजार दिइनेछ ।

यस्तै, ३.८० देखि ३.८९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का विद्यार्थीले ३० हजार र कक्षा ८ काले ६ हजार रुपैयाँ पाउनेछन् । ३.७० देखि ३.७९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ काले २० हजार र कक्षा ८ का परीक्षार्थीले ४ हजार तथा ३.६० देखि ३.६९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई १० हजार र कक्षा ८ कालाई २ हजार रुपैयाँ पुरस्कार दिने पालिकाको निर्णय छ ।

पालिकाको वार्षिक कार्यक्रमअनुसार नै विद्यार्थी प्रोत्साहनस्वरूप नगद पुरस्कार घोषणा गरिएको खनालले जानकारी दिए । ‘पहिले कार्यक्रम मात्र राखिएको थियो, कार्यपालिका बैठकले रकम खुलाएको हो,’ उनले भने । यस कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख बजेट छुट्याएको छ । यस वर्षको एसईईमा सहिद लखन गाउँपालिकाबाट १ सय ९९ विद्यार्थीर् सहभागी छन् । त्यस्तै कक्षा ८ को पालिकास्तरीय परीक्षामा २ सय १० विद्यार्थी सहभागी छन् ।

पुरस्कार घोषणाले विद्यार्थीमा पढ्न उत्प्रेरणा मिल्ने वडा नं. ७ स्थित सहिद स्मृति माविका शिक्षक अनुपबाबु श्रेष्ठले बताए । ‘अलि चाँडो घोषणा गरिएको भए अझै राम्रो हुन्थ्यो । यसले विद्यार्थीलाई पढ्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने ।

सहिद स्मृति माविबाट एसईईमा सहभागी सागर श्रेष्ठ पालिका वा विद्यालयले दिने पुरस्कारले हौसला बढाउने बताउँछन् । ‘यस्तो पुरस्कारले प्रतिस्पर्धात्मक भावना पनि ल्याउँछ, ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने थाहा पाउँदा खुसी लागेको छ,’ उनले भने ।

बिहीबार सुरु भएको एसईईमा जिल्लाभर ४४ सय ७७ परीक्षार्थी छन् । तीमध्ये नियमित परीक्षा दिनेमा साधारणतर्फ ३४ सय ४१ र प्राविधिकतर्फ ९९ जना छन् । ग्रेडवृद्धिको नियमिततर्फ ९ सय १६ र प्राविधिकतर्फ २१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । एसईईमा सुस्तश्रवण १६ र दृष्टिविहीन ३ विद्यार्थी पनि सहभागी छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया