मंग्सिर १, २०८२ सोमबार November 17, 2025

गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छान्न सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल रहेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए ।

नेपाल राष्ट्र बैंक ऐनमा पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्छ । गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल यही चैत २४ मा सकिँदै छ । गभर्नरको पदावधि सकिनै लाग्दा छनोट समितिसमेत गठन नगर्दा अर्थतन्त्रप्रति सरकार संवेदनशील नदेखिएको आरोप थियो । अर्थतन्त्र प्रतिकूल रहेको र नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा रहेका बेला गभर्नर छनोटमा सरकार गम्भीर नदेखिँदा आलोचना भएको थियो ।

राष्ट्र बैंक ऐनमा गभर्नरका लागि उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी कार्यअनुभव भएको हुनुपर्नेछ । गठबन्धनका शीर्ष नेता भने अन्य सरकारी नियुक्तिमा मिसाएर गभर्नरमा पनि राजनीतिक भागबन्डा मिलाउन लागिपरेका छन् । तर भागबन्डा गरी कमजोर नेतृत्व छानिए अर्थतन्त्र संकटमा पर्ने विज्ञहरूको चिन्ता छ । करिब १२ वर्षअघि अर्थतन्त्र असहज अवस्थामा रहेको बेला निकासका लागि भन्दै भारतमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले अर्थशास्त्री रघुराम राजनलाई रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को गभर्नर बनाएका थिए । त्यति बेला भारतमा शोधनान्तर स्थिति उच्च घाटामा थियो । मुद्रास्फीति उच्च थियो भने विदेशी लगानी घटेको थियो । एकातिर भारतीय मुद्रा कमजोर बनेको थियो, अर्कातिर बैंकहरूको खराब कर्जा बढेको थियो ।

राजनले राजनीतिक दबाब अस्वीकार गर्दै अर्थतन्त्रको स्थायित्व र बैंकिङ प्रणाली सुधारका लागि निर्मम कदम चालेका थिए । राजनले ब्याजदर बढाएर मूल्य नियन्त्रणको नीति लिएका थिए । नेपालको अर्थतन्त्र पनि नाजुक अवस्थामा रहेकाले त्यसलाई लयमा ल्याउन राजनजस्तै निडर, जानकार र ‘भिजन’ भएको व्यक्तिलाई गभर्नर बनाउनुपर्ने विज्ञ बताउँछन् ।

यति बेला नेपालको अर्थतन्त्रका सूचकांक अहिले विरोधाभासपूर्ण छन् । एकातिर रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र चालु खातालगायत सूचक सबल छन् भने अर्कातर्फ बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी रकम थन्किएको छ । ब्याजदर घट्दो क्रममा भए पनि ऋण प्रवाह बढ्न सकेको छैन । अर्थ मन्त्रालय र राष्ट्र बैंकले पटक–पटक नीतिगत सुधारको प्रयास गरे पनि समग्रमा अर्थतन्त्र चलायमान हुन सकेको छैन । त्यसमाथि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले ‘ग्रे लिस्ट’ मा राखेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख दाउमा छ ।

राष्ट्र बैंकको कार्यकारी प्रमुखका लागि स्वार्थप्रेरित चलखेल हुन सक्ने भन्दै आर्थिक क्षेत्रका विज्ञले सार्वजनिक रूपमा र सांसदहरूले संसद्मा आवाज उठाउन थालेका छन् । पूर्वअर्थमन्त्री, पूर्वगभर्नर र अर्थशास्त्रीले समेत ‘कसैको दबाब, प्रभाव र प्रलोभनमा नपरी’ स्वतन्त्र र निष्पक्ष रूपमा कार्यसम्पादन गर्न सक्ने क्षमतावान् व्यक्तिलाई गभर्नर बनाउनुपर्ने भन्दै खबरदारी गरिरहेका छन् ।

स्वार्थ समूहले ‘आफूअनुकूल व्यक्ति’का लागि ‘लबिइङ’ गरिरहेका छन् । सरकारले गरेका पछिल्ला नियुक्तिमा स्वार्थ समूह हाबी भएको, आर्थिक लेनदेन भएको, राम्राभन्दा पनि विवादित मान्छे छानिएको आरोप लागिरहेका बेला गभर्नरमा पनि त्यस्तै हुने आशंका छ ।

अहिलेको आर्थिक अवस्था र देशभित्र व्याप्त निराशालाई नबुझी अन्य नियुक्तिमा जस्तै प्रश्न उठ्ने गरी गभर्नर छनोट गरिए देश थप गम्भीर स्थितिमा जाने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । राजनीतीकरण गर्न नहुने र काम गर्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्नेमा अर्थविद् केशव आचार्यको जोड छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महत पनि सरकारले गम्भीर भएर नयाँ गभर्नर छनोट गर्नुपर्ने बताउँछन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार