नारायणप्रसाद पाण्डे नुवाकोट जिल्लाबासीका लागि नयाँ नाम होइन । पारिवारिक रुपमा सानै उमेरदेखि नै राजनीतिको मियो समाउँदै आउनु भएका पाण्डेको यात्रा निरन्तर रुपमा सक्रियताकासाथ चलिरहेको छ । सामाजिक र राजनीतिक रुपमा सक्रिय रहँदै आउनु भएका पाण्डेको दैनिकी झन व्यस्त रहेको छ । राजनीतिक र सामाजिक सक्रियतासँगै तादी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी थपिएपछि बढेको उहाको सक्रियता यतिखेर कसरी आफु निर्र्वाचित भएको गाउँपालिकालाई विकसित र सम्पन्न बनाउने भन्नेमा नै केन्द्रीत हुँदै आएको छ । नुवाकोट जिल्लाका पुराना राजनीतिज्ञ गोविन्दप्रसाद पाण्डेका छोरा नारायण पाण्डेले तत्कालिन एमालेबाट गाउँपालिकाको उम्मेदवार बनेका केपी लामिछानेलाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०२५ साल चैत्र १ गते जिल्लाको खरानीटारमा जन्मनु भएका उहाको सानै उमेरदेखिको राजनीतिप्रतिको चासोका कारण आज साच्चिकै जनताको सेवक बन्ने अवसर प्राप्त भएको छ । इमान्दार, आफ्ना कुरा निर्धकसँग राख्न सक्ने एक बौद्धिक व्यक्तित्वको परिचय बनाउन सफल हुनुभएका पाण्डेले आफ्नो पछिल्लो एक मात्र उदेश्य समृद्ध तादी गाउँपालिका बनाउने रहेको बताउनुभयो । पछिल्लो समय गाउँपालिका अध्यक्ष भएर होस वा पार्टीभित्रको आन्तरिक राजनीतिमा होस उहाको योगदान महत्वपुर्ण रहँदै आएको छ । स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरुको साझा संस्था स्थानीय निकाय महासंघको केन्द्रीय सदस्य समेत रहनु भएका पाण्डेले स्थानीय तहलाई अझ व्यवस्थित बनाउन आफुहरु सक्रिय रहेको जानकारी दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधिहरुले बढि भन्दा बढि सेवा सुविधा लिने काम गरिरहेको विषयमा समेत संघले अनुमगन गरिरहेको भन्दै उहाले जनताका प्रतिनिधिमा साच्चिकै जनताको सेवक हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाको विकासका लागि आफुले गुरुयोजना बनाएर अगाडि बढाएको भन्दै पाँच वर्षे कार्यकालमा तादी गाउँपालिकाको मुहार परिवर्तन गरेरै छाड्ने उद्घोष गर्नुभयो । आम रुपमा जनप्रतिनिधिमाथि जनताका आशा र भरोसा बढि रहेको कुरालाई स्वीकार गर्दै अध्यक्ष पाण्डेले क्रमशः जनताका आशालाई पुरा गर्दै जाने समेत बताउनुभयो । प्रस्तुत छ गाउँपालिकाको आगामी योजना तथा विकासका बारेमा नुवाकोट पुकारले अध्यक्ष पाण्डेसँग गरेको कुराकानीका सम्पादित अंशहरु
१ कस्तो चल्दैछ दोस्रो वर्षको कार्यकाल ?
–पहिलो कुरा त पहिलो वर्ष निर्वाचनको माहोल थियो । भरर्खर जितेको हुनाले जनातासँग हामीले धेरै वाचा गरेका थियौं र उहाहरुको पनि धेरै इच्छा र आकाँक्षाहरु थिए,त्यसलाई पुरा गर्ने विषयमा केही सिक्दै थियौं,अझ भनौं पहिलो वर्ष केही सिक्दै र अनुभव लिँदै सकिएको जस्तो लागेको थियो,तर दोस्रो वर्ष भने निर्वाचनका बेला गरेका बाचाहरुलाई क्रमशः पुरा गर्ने बाटोमा केन्द्रीत भएका छौं । समग्रमा दोस्रो वर्षमा बढि भन्दा बढि जनातको चासोलाई सम्बोधन गर्दै विकासका लागि अघि बढ्दै जाने अवसर मिलेको छ ।
२ लामो समय जनप्रतिनिधि बिहीन अवस्थामा रहेको स्थानीय तहमा निर्वाचित निकाय पाउँदा जनताले कस्तो महसुस गरेको पाउँनु भयो ?
–लामो समय स्थानीय तहमा कर्मचारीवर्गले सञ्चालन गरेको अवस्थामा आफ्ना दुःख सुख साट्ने स्थानको अभावको महसुश जनताले गरेका रहेछन् । जब हामी निर्वाचित रुपमा स्थानीय तहमा आयौ त्यसपछि जनता अत्यन्त उत्साहित भएको, दुःख सुख साट्ने थलो पाएकोमा निकै खुशी भएको मैलै महसुस गरेको छु । मुलुकमा स्थापित संघीय संरचना अनुसार स्थानीय तहमा जुन अधिकारहरु आएका छन् त्यसलाई अफ्नो घर आगनमा नै उपभोग गर्न पाउँदा जनता सुखी भएका छन् र हामीले पनि सिमित साधन स्रोतकाबीचमा जनतालाई हाम्रो तर्फबाट दिने सेवा सुविधामा कुनै कन्जुस्याँई नगरीकन काम गरिरहेका छौ । मुलुकको संविधानले व्वस्था गरेका अधिकारलाई प्रयोग गर्दै स्थानीय तहमार्फत आम नागरिकलाई बढि भन्दा बढि सेवा सुविधा दिने कुरामा हामी तल्लिन छौं र जनताले अत्यन्त उत्साहकासाथ त्यसलाई उपभोग गरिरहेका छन् ।
३ अधिकार उपभोग गरिरहेको कुरा त गर्नुभयो,तर आम नागरिकले जति अधिकार उपभोग गर्न पाउनु पर्ने हो त्यो नपाएकोमा चिन्तित पनि त छन् नि होइन ?
–अत्यन्त सहि विषय उठाउनु भयो । हो,संघीय सरकारले स्थानीय तहलाई अर्थात वडा तहसम्म २२ बटा जुन महत्वपुर्ण अधिकार दिएको थियो त्यो कार्यान्वयन गर्नका लागि निकै कठिन भैरहेको अवस्था छ । मूख्य कुरा त्यसको कार्यान्वयन गर्ने काम कर्मचारीले गर्नुपर्ने हुन्छ तर हामीले राज्यले दिएको अधिकारलाई उपभोग गर्न सक्नेगरि र जनतालाई ति अधिकारहरु पूर्ण रुपमा वितरण गर्न आजसम्म पनि काम गर्न सकिरहेका छैनौं । कार्यलय र कामको जिम्मेवारी दिएको छ तर त्यस विषयमा अनुभव भएका कर्मचारी पठाउन सकेको छैन । अर्को तर्फ साधनस्रोतको अभाव छ । एउटा सचिवले तीन चार वटा वडामा गएर दिन अनुसार बिराएर काम गर्नुपर्ने अवस्था रहेको छ । प्राविधिक कर्मचारीको त्यतिकै समस्या रहेको छ । शिक्षा,स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रमा समेत कर्मचारीको अभावमा जनतालाई भनेको समयमा भनेको सेवा दिन सक्ने अवस्था छैन भने अर्को तर्फ केन्द्र र प्रदेश सरकारले स्थानीय तहससँग समन्वय नगरी काम गरिरहेको अवस्था छ । यि यावत समस्यामा बाबजुत पनि हामी कति पनि विचलित नभईकन भएको साधन स्रोतलाई बढिभन्दा बढि रुपमा उपभोग गर्दै जनतालाई निराश बन्न नदिन लागिरहेका र्छौ । हाम्रा यि बाध्यताहरुलाई बुझ्दै जनताले हामीसँग तालेमालो गरेर अघि बढिरहेको अनुभव मैलै गरेको छु ।
४ यहाको भनाई अनुसार स्थानीय तहलाई प्रदेश र केन्द्र सरकारले सहयोग गरेको देखिदैन ?
– हो जति सहयोग हुनुपर्ने हो त्यो भएको पक्कै छैन । केन्द्र सरकारले अधिकार दिएको भनेर जनतालाई भनेको छ,तर त्यो अनुसारको व्यवस्थापन गरिदिएके छैन । न त हामीले व्यवस्थापन गर्न पाउँछौं न त केन्द्रले गरिदिन्छ । कर्मचारी व्यवस्थापन केन्द्रले गरिदिनुपर्दछ । करारमा हामीले कर्मचारी राख्न सक्ने अवस्था छैन । यस्तै स्थानीय निकाय सञ्चालन सम्बन्धि धेरै कानुनहरु निर्माण हुन नसकेका कारण काममा धेरै अलमल भैरहेको छ । अर्को तर्फ प्रदेश सरकारले पनि स्थानीय तहलाई वास्ता नगरी आफ्नो अनुकुल ढंगले योजनाहरु अगाढि बढाउने काम गरेको छ । विगतका वर्षहरुमा प्रदेश सरकारले कुन क्षेत्रमा के के योजना वितरण गरेको छ भन्ने कुरा उपभोक्ता समिति बनाएर सम्झौता गर्ने बेलामा मात्रै हामीले थाहा पाएका थियौं भने कतिपय परिसकेको योजनाहरुलाई हटाएर रकमान्तर गरेको घटना पनि छन् । जसका कारण प्रदेशका योजानहरु धेरै अलपत्र परेको अवस्था छ । स्थानीय तहमा हामीले वितरण गरेका योजनाहरुको काम ८०,८५ प्रतिशत सकिदा पनि प्रदेशका योजनाहरु अलपत्र परेको अवस्था छ । यि सबैको कारण आपसी समन्वयको अभाव हो भन्ने हामीले बुझेका छौं ।
५ पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको सेवामा भन्दा आफ्नो सेवा सुविधामा ध्यान दिएको गुनासो पनि छ नि ?
–हो कहि कँतै त्यस्तै कुरा आएको छ । म स्थानीय निकायहरुको साझा संस्था स्थानीय निकाय महासंघको केन्द्रीय सदस्य पनि भएको नाताले त्यस विषयमा हामीले बैठक बसेर नै त्यसको अनुगमन गर्ने निर्णय गरेका छौं । हामीले अनुगमन गर्दा केही अपवाद बाहेर त्यस्तो कुरा प्रचारमा आएको जस्तो सेवा सुविधा विस्तार गरेको र लिइएको पाइएको छैन । जनप्रतिनिधिहरुले विशेष गरेर अध्यक्षहरुले गाडी सुविधा लिएका छन् । यसलाई नाजायज भन्न मिल्ने कुरा आउँदैन । अहिले अध्यक्षहरुको जिम्मेवारी यति धेरै छ कि त्यो पुरा गर्नका लागि झोला बोकेर हिडेर जाँदा सम्भव छैन । त्यस हिसाबले सबैले गाडीको सुविधा लिएका छन् । अरु तलब भत्ताको विषयमा प्रदेश सरकारले गरेको निर्णयभन्दा बाहिर जाने कुरा आउँदैन । तथापी कँहि कतै त्यस्तो भएको अवस्थामा हामीले तत्काल सच्याउनु अनुरोध समेत गरिसकेका छौं । मेरो हकमा भन्नुहुन्छ भने मैले प्रदेश सरकारले तोकेको भन्दा बढि सेवा सुविधा कुनै लिएको छैन । म सबै हिसाबले सम्पन्न हुँदा हुँदै पनि जनताको सेवा गर्छु भनेर राजनीतिमा आएको हु, म आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा तल्लिन हुन चाहान्छु ।
६ कतिपय अवस्थामा जनप्रतिनिधि र कर्मचारी प्रशासनबीच आपसी सहकार्य हुन नसकेको कारण काम प्रभावित भएको गुनासो पनि छ नि,के भन्नहुन्छ ?
यो सुनिएको कुरा हो, तर मैलै त्यस्तो अनुभव गरेको छैन । कर्मचारीले गर्ने काममा उनीहरुलाई स्वतन्त्र रुपमा छाडिदिनुपर्दछ र जनप्रतिनिधिले गर्ने काममा कर्मचारीवर्गले अस्वीकार गर्ने वा रोक्ने,अल्झाउने कुरा आउँदैन । मूख्य कुरा के हो भने जनप्रतिनिधिहरुले मेरो जिम्मेवारी के हो र के के मैले गर्नुपर्दछ वा हुन्छ भनेर आफ्नो जिम्मेवारी बोध गर्दै अघि बढेको खण्डमा र कर्मचारी बर्गले पनि जनप्रतिनिधिहरु त भरर्खर आएका त हुन नि के बुझेका छन् र भनेर आफुलाई मात्रै सर्वेसर्वा ठान्ने सोचाईमा परिवर्तन गर्न सकेको खण्डमा यो समस्या निस्कन पाउँदैन भन्ने मेरो बुझाई छ । जहा जनप्रतिनिधिले कर्मचारी केही होइन मेरो अण्डरमा बस्नुपर्दछ भन्ने मानसिकता बोकेका हुन्छन् र कर्मचारीले पनि केही कमजोर र नबुझेका जनप्रतिनिधि भएको स्थानमा घुमाउने प्रयास गर्दछन् त्यस्ता स्थानमा मात्रै यो समस्या आएको मैले देखेको छु । मेरो दुई वर्षको कार्यकालमा धेरै कर्मचारी परिवर्तन भैसके तरत्यस्तो व्यवहार कतैबाट पनि भएको छैन ।
७ गाउँपालिकाको अध्यक्षको भएको दुई वर्षको अवधिमा तपाईको नेतृत्वमा गाउँपालिकाले के के पायो त ?
निश्चित रुपमा दुई वर्षको अवधिमा हामीले धेरै काम गरेका छौं । मैलै अघि नै भने पहिलो वर्ष चुनावी माहोल थियो । हामीले हाम्रो स्रोत र साधन अनुसार जनताका मागलाई थेक्न सक्ने बजेट बनाउन सकेका थिएन । दोस्रो वर्षको बजेट मार्फत हामीले भरपुर रुपमा त्यसलाई प्रयोग गर्दै विकास निर्माणका कामलाई अघि बढाएका छौं । मोटरबाटो नपुगेको क्षेत्रमा मोटर बाटो पु¥याउने काम गरेका छौं । कृषि विकासको मूख्य आधार मानिएको सिँचाईको विकासमा साना सिँचाईलाई जोड दिँदै प्रयाप्त मात्रामा बजेट विनियोजन गरेका छौं । त्यति मात्रै होइन केन्द्रीय बजेटबाट बनिरहेका सिँचाईहरुको पनि अनुमगन गर्ने तिनीहरुलाई सम्पन्न गर्नका लागि आइपरेका बाधा अड्न फुकाउने र आफ्नो तर्फबाट आवश्यक परेको खण्डमा बजेटको समेत व्यवस्था गर्दै कृषि विकासको लागि काम गरिरहेका छौं । यस्तै शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि पनि उत्तिकै मात्रामा ध्यान दिएका छौं । सरकारी दरबन्दी अपुग भएका त्यस्ता विद्यालयहरुलाई गाउँपालिकाको तर्फबाट अनुदान दिएर शिक्षक भर्ना गरेर पढाउने व्यवस्थाका साथै विद्यालयको अनुगमन गर्दै स्तरीय रुपमा पठन पाठन गर्ने व्यवस्था समेत मिलाएका छौं । पर्यटन लगायतका क्षेत्रमा पनि उत्तिकै काम गरिरहेका छौं । यसर्थ दुई वर्षको अवधिमा धेरै विकासका काम भएको मैले ठानेको छु ।
अबको तीन वर्षमा तादी गाउँपालिकालाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?
मैले अघि पनि भने हामीले पाँच वर्ष मात्रै होइन पञ्चिस वर्षसम्म के के काम गर्नुपर्दछ र कसरी तादी गाउँपालिकालाई सम्पन्न बनाउन सकिन्छ भनेर बृहत कार्ययोजनाका साथ काम गरिरहेका छौं । पाँच वर्षसम्म हामी जे गछौं त्यसपछिको अवस्थामा पनि आउने नेतृत्वले त्यसलाई निरन्तरता दिँदै गाउँपालिकाको विकासमा योगदान दिनसक्ने वातावराणकासाथ योजना निर्माण गर्ने प्रयासमा छौं । अर्को कुरा गाँउको विकासका लागि सांस्कृतिक धरोहरलाई बचाउँदै त्यसको संरक्षणमा हाम्रो ध्यान जानेछ । यस्तै अब हामी सडक खन्दैनौ, बनेका सडकहरुलाई १२ महिना चल्न सक्ने गरि स्तरोन्तरी गरिसकेपछि मात्रै अरु सडक खन्न थाल्छौं,त्यस्तै सामुदायिक शिक्षालाई व्यवस्थित बनाउने हाम्रो विगतको लक्ष्यलाई निरन्तराता दिँदै त्यसलाई अझ राम्रो र सबैको पहुँचमा पु¥याउने हाम्रो अर्को उदेश्य रहेको छ । स्वास्थ्यको क्षेत्रमा पनि गाउँपालिकाभित्र एउटा सुविधा सम्पन्न १५ शैष्याको अस्पताल बनाउने सरकारी योजनालाई पुरा गराउने अभियानमा सक्रिय छौं । कृषिको क्षेत्रमा किसानलाई आधुनिकिरणतर्फ ढाल्दै त्यसका लागि आवश्यक बिउ,तथा उनीहरुका लागि तालिमको व्यवस्था गर्दै जाने योजनामा रहेको छ र जुन काम विगतदेखि नै भैरहेको छ । साधन स्रोतको अभावकाबीचमा पनि गाउँपालिकाको ६ वटै वडा बाट आम नागरिकले पाउने सेवा सुविधलाई व्यवस्थित रुपमा सेवाप्रवाह गरिरहेका छौं । यिनै कामहरु मार्फत समृद्ध तादी गाउँपालिका बनाउने हाम्रो योजना र लक्ष्य रहेको रहेको छ ।
७ भनेपछि आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?
संसारमा सन्तुष्ट भन्ने कुरा त लिने हो, विश्वका अति सम्पन्नशाली देशहरु त अझै कसरी समृद्ध बनाउने भन्नेमा दिनरात नभनी लागिरहेका छन् भने हाम्रो जस्तो विकासशिल मुलुकले त धेरै कुरा प्राप्त गर्न बाँकी रहेको अवस्थामा सन्तुष्ट लिने त कुरा नै आउँदैन । संघीय संरचना अनुसार हाम्रो कार्यकाल पहिलो कार्यकाल हो, चुनौतीका पहाडलाई पन्छाउँदै काम गर्नुपर्ने अवस्था छ । सिमित साधन स्रोतकाबीच त्यसलाई उपयोग गर्दै जनतालाई दिनुपर्ने सेवा सुविधा चाहे,त्यो शिक्षामा होस वा स्वास्थ्यमा होस कि कृषिमा सबै क्षेत्रलाई समेट्दे अघि बढिरहेको अवस्थामा आफ्नो गच्छ अनुसार सन्तुष्ट मान्नुपर्दछ भन्ने मलाई लाग्दछ । नुवाकोट पुकार साप्ताहिकबाट साभार
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया