मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

युरोपमा बढ्दै रोजगारीको आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत २६ गते । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा युरोपका चार वटा देशमा ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत आव २०८०/८१ को आठ महिनाको तुलनामा चालु आवको सो अवधिसम्म युरोपका रोमानिया, क्रोएसिया, माल्टा र साइप्रस जानेको सङ्ख्या ३२ प्रतिशतले बढेको हो । चालु आवको यस अवधिसम्म ती देशका लागि ३४ हजार ३६६ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको सोही अवधिसम्म २३ हजार ५१० जनाले श्रम स्वीकृति लिएका थिए । जुन सङ्ख्या गत आवको सो अवधिको तुलनामा चालु आवको सो अवधिमा १० हजार ८५६ जनाले बढी हो ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्ला वर्षमा नेपाली युरोपेली मुलुक रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा जाने क्रम बढेको जानकारी दिनुभयो । श्रम स्वीकृति नलिई भ्रमण भिसा वा अन्य माध्यमबाट जाने र उतै काम गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । ती देशमा संस्थागत नभएर व्यक्तिगत भिसामा जाने गरेको खाडी र मलेसियाको तुलनामा लागत बढिरहेको छ ।

विभागका अनुसार सङ्ख्याका हिसाबले युरोपमा सबैभन्दा धेरै रोमानिया जाने बढेका छन् । चालु आवको यस अवधिसम्म रोमानिया जाने नेपाली १७ हजार ८३० जना रहेका छन् । जबकि गत आवको सो अवधिमा रोमानियामा सात हजार ५४४ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

विभागका अनुसार क्रोएसिया र साइप्रस जाने नेपालीको सङ्ख्या भने सामान्य रूपमा बढेको छ । गत आवको फागुनसम्ममा सात हजार ५०६ जना क्रोएसिया गएकोमा चालु आवको फागुनसम्म आठ हजार ८०५ जना पुगेका छन् । यस्तै चालु आवमा साइप्रसमा चार हजार ९० जना नेपाली श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो सङ्ख्या तीन हजार ६७९ थियो । माल्टा जानेमा भने यस वर्ष दुई हजार ६४ जनाले कमी आएको छ ।

गत आवको फागुनसम्ममा चार हजार ५८३ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएकामा चालु आवको फागुनसम्म दुई हजार ५१९ जनाले मात्रै श्रम स्वीकृति लिएको देखिन्छ । पछिल्लो दुई वर्षको आठ महिनाको प्रतिवेदन विश्लेषण गरेर हेर्दा पछिल्लो वर्ष माल्टा जानेको सङ्ख्या घटेको देखिन्छ ।

पछिल्लो समयमा जर्मनीले नेपालबाट दक्ष तथा अर्धदक्ष नेपाली श्रमिक लिन इच्छा देखाउँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी पक्षसँग नेपाली श्रमिक पठाउन सक्ने सम्भावित क्षेत्रबारे अध्ययन पनि सुरु गरेको जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायीले युरोपका कतिपय मुलुकमा नेपाली श्रमिकको माग राम्रो भए पनि मागपत्र प्रमाणीकरण झन्झटिलो भएका कारण यो अवसर नेपालले गुमाएको भन्दै सहज गर्न सरकारसँग माग गर्दै आएका छन् । युरोपमा व्यक्तिगत भिसामा नेपाली जाने क्रम बढेपछि श्रम मन्त्रालयले दुई वर्षपहिले नै दूतावास नभएका देशको प्रमाणीकरण नेपालबाटै गर्ने तयारी गरे पनि परराष्ट्र मन्त्रालयले नमान्दा रोकिएको छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा (क्रान्तिकारी केन्द्र), बोल्सेविक र रेडफोर्स नेपाल पार्टीबीच एकता
२०८२ मंग्सिर २४, बुधबार
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार