औद्योगिक क्षेत्रले अझै पनि लोडसेडिङ झेल्नु परेको भन्दै पूर्वका उद्योगीहरूले आगामी बजेटमा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। बुधबार उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहितको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस्तो सुझाव दिएका हुन्।
अर्थमन्त्रीसँगको छलफलका क्रममा उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रशारण लाइन जस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनामा लगानी केन्द्रित गर्न अनुरोध गरेका छन्। उनले विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदानजस्ता रकमहरू विलम्ब नगरी भुक्तानी गर्नका साथै नीतिगत स्थिरता कायम गर्नसमेत माग गरेका छन्। यस्तै खुला सिमाना नियमन गर्न, उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनु पर्नेमा सुरानाले जोड दिए।
कुल व्यापार लागतमा लजिष्टक खर्च ३० प्रतिशतभन्दा बढी रहेको अवगत गराउँदै अध्यक्ष सुरानाले कोशी प्रदेशकै गेम चेञ्जरको रूपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरी सञ्चालनमा ल्याउन अनुरोध गरे। छलफलका क्रममा अध्यक्ष सुरानाले हाल कतिपय उद्योगको कच्चा पदार्थ र तयारी वस्तुबिच भन्सार दरको फरक ३ तहको रहेको छ भने कतिपयमा १ तहको रहेको बताउँदै सबै प्रकृतिको उद्योगलाई एकै प्रकारको दर कायम गर्न अनुरोध गरेका छन्।
उनले आयकर ऐन २०५८ को दफा ५७ लाई समायानुकूल संशोधन गरी आर्थिक संकटमा परेका लघु घरेलु तथा साना र मझौला उद्योगहरूमा पुँजी थप गर्ने वातावरण सिर्जना गर्न माग गरे। यस्तै हाल स्टार्टअपमा प्रति व्यवसाय १ लाखसम्म बीउ पुँजी अनुदान स्वरुप उपलब्ध गराउँदा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था रहेको हुँदा सोको सट्टा स्टार्टअपमा लगानी गर्दा आयकरमा छुट दिने व्यवस्था कायम गर्न आग्रह गरे।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले अहिलेको आर्थिक सुस्तता, निराशालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छन्। प्रतिनिधि मण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिल सारडाको सहभागिता रहेको थियो।नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया