काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गइरहेको छ । नागरिकको चाहना एवं आवश्यकतानुसार काम गर्न नसकेपछि असन्तुष्टि बढ्दै गइरहेको देखिन्छ । असन्तुष्टि बढ्दै गएपछि जनता सरकारविरुद्ध सडकमै उत्रिन थालेका छन् ।
प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा कि जाँदैनन्, गए त्यहीँ उनका विरुद्धमा हुटिङ हुन थालेको छ । २७ चैतमा सिरहा पुगेका प्रधानमन्त्री ओलीले भाषण गर्न थालेपछि सहभागीहरू उठेर हिँड्न थाले । काठमाडौंका कतिपय महत्वपूर्ण सार्वजनिक कार्यक्रममै सहभागी हुन छाडेका ओली कतै सहभागी भए त्यहीँ उनका विरुद्धमा हुटिङ हुन थालेको छ ।
हेलिकोप्टरमा सिरहा पुगेका ओली त्यहाँ पार्टी कार्यक्रममा सहभागी भए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीको जिल्ला अधिवेशनका प्रमुख अतिथि थिए । तर, जब उनी भाषण गर्न थाले सहभागीहरू उठेर हिँड्न थाले । कमलाको पुल दशकौं बित्दा पनि नबनेको आक्रोश पोख्दै सहभागीहरूले नेता हेलिकोप्टरबाट आउँदा जनताको समस्या बुझ्न नसकेको भन्दै गुनासो गर्दै थिए ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बुधबार हेलिकोप्टरमा तेह्रथुम पुगेका थिए । सिंह तेह्रथुमको कार्यक्रममा सहभागी भई प्रमुख अतिथिको आसनबाट भाषण गर्दैगर्दा कुर्सी भने खाली हुन थालेका थिए ।
गत साता परराष्ट्रमन्त्री आरजु राणा देउवा काभ्रे पुगेकी थिइन् । उनले बाढीपीडितलाई राहत बाँडिन् । तर, त्यो सरकारी नभई जापान सरकारले उपलब्ध गराएको सहयोग सामग्री थियो । उनी पार्टी कार्यक्रममा समेत सहभागी हुन खोजिन् । तर, स्थानीय कमिटीले पार्टीको कुनै कार्यक्रम राख्न नसक्दा उनी जापान सरकारले उपलब्ध गराएको सहयोग बाँडेर फर्किइन् ।
यस्तै, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङमा पुगेका थिए । तर, त्यहाँ मान्छे कम देखेर उनले गुनासो गर्न थाले । कार्यक्रममा मान्छे किन थोरै भए भन्दै उनले स्थानीय नेतासँग प्रश्न गर्न थाले । आक्रोशित मन्त्री गुरुङले यसरी कसरी हुन गयो भन्दै प्रश्न गर्न थालेपछि स्थानीय नेता जवाफविहीन भए ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले सरकारप्रति नागरिकको असन्तुष्टि बढ्नुलाई स्वाभाविक रूपमा लिएका छन् । झन्डै दुई तिहाइ बहुमतको बलियो सरकारले नागरिकको आवश्यकता र चाहना पूरा गर्न नसकेरै असन्तुष्टि बढ्दै गएको उनले बताए । शिक्षक, सहकारीपीडितदेखि अन्य विभिन्न समूहका मान्छे अहिले सरकारविरुद्ध सडकमा छन् । सरकारकै कमी कमजोरीका कारण व्यवस्थाको विरुद्धमा समेत कतिपय समूह सडकमा उत्रिसकेका छन् । सरकारमा बस्नेहरूले काम कम र भाषण बढी गर्न थालेको भन्दै विश्लेषक पोखरेलले भने, ‘सरकारको काम बोलेन, मुख मात्रै बोल्यो ।’
सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको देखिनु भनेको जनताको स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ । ‘सरकारको व्यवहार, नीति, कार्यक्रम, शैली हेर्दा सरकारबाट आमनागरिक सन्तुष्ट छैनन्, सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गएको छ,’ पोखरेलले भने, ‘कार्यसम्पादन मूल्यांकनमै प्रधानमन्त्रीसहित बहुमत मन्त्रीहरू फेल भए, नागरिकको चाहना र आवश्यकतानुसार काम गर्न नसकेपछि आक्रोश बढ्दै गयो, सरकारमा बस्नेहरूले आफूलाई सच्याउनुपर्छ ।’
नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलको समर्थनमा बनेको ओली नेतृत्वको सरकारको आलोचना सत्तारूढ दलबाटै समेत हुन थालेको छ । सरकार बनेपछि बचाउमा रहेका कतिपय नेताले समेत सरकारले नागरिकको चाहना र आवश्यकतानुसार काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् ।
कांग्रेस महामन्त्री गगन थापा सुरुमा सरकारको तारिफ गर्थे । तर, अहिले उनले सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । सार्वजनिक कार्यक्रममै उनले ओली नेतृत्वको सरकारले ठीक ढंगले काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् ।
पार्टीको बाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ठीक ढंगले काम गरोस् भनेर संयन्त्रमा बसेर काम गरिरहेको भए पनि ताप्के (प्रधानमन्त्री) नतातेको टिप्पणी गरेका छन् । आफूले सरकारले १८ देखि २० घण्टा काम गरेर जनगुनासो सम्बोधन गरोस् भन्ने चाहेको बताउँदै उनले ताप्के नतातेर बिँड मात्रै तातेको बताए ।
‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम गर्न सकिरहेको छैन, म अहिले जिम्मेवारीमा छु, संयन्त्रको जिम्मेवारीमा, …तर, यो बिँड तातेर केही नहुने रहेछ, ताप्के तात्नुपर्ने रहेछ,’ थापाले भने, ‘जिम्मा लिएको ताप्के तात्यो भने बल्ल परिणाम आउँछ, नभए हामीलाई हुटहुटी हुने ।’ आफू १८–२० घण्टा काम गर्न तयार रहेको भन्दै थापाले सरकारमा बसेका साथीहरूले पनि १८–२० घण्टा काम गर्नुपर्ने बताए । ‘जिम्मा लिएको काम गर्नुप¥यो, जिम्माचाहिँ के छ भन्दा मन्त्रालयको, म पनि हिजो मन्त्री भएर आएको,’ थापाले भने, ‘म स्वास्थ्यमन्त्री भएर काम गर्दैगर्दा मलाई भूत केको सवार हुन्थ्यो भने त्यसबेलामा मैले दायाँबायाँ स्वास्थ्यभन्दा केही पनि देख्दैनथें, किनकि मेरो काम त त्यो हो नि त, मैले त्यो अनुभवका आधारमा प्रधानमन्त्री र मन्त्रीहरूलाई त्यो भनिरहेको हुँ, एकदमै छिटो परिणाम चाहिएको छ ।’
उनले वर्तमान सरकारले आर्थिक सुधारको क्षेत्रमा भने केही काम गरेको दाबी गरे । महामन्त्री थापाले कांग्रेसकै आइडियामा सरकारले अध्यादेशमार्फत विभिन्न ऐन कानुनहरू संशोधन गरेको पनि बताए ।
महामन्त्री थापाले केही समयदेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारको निरन्तर आलोचना गर्दै आइरहेका छन् । रूपन्देही, गुल्मीलगायतका स्थानमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समेत उनले सरकारविरुद्ध असन्तुष्टि पोख्दै आएका छन् ।
यस्तै थापाले गत २०७४ सालमा ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले ऋण लिएर घिउ खाएको टिप्पणी गरेका छन् । पार्टीको रूपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले देश ऋणमा डुब्नुको प्रमुख दोषी नै त्यसबेलाको सरकार रहेको टिप्पणी गरेका छन् । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया