काठमाडौँ । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै गठित अभियानका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्था नफर्केसम्म आन्दोलन नरोकिने प्रस्ट पारेका छन्। तीनकुने घटनाबारे सत्यतथ्य छानबिनको माग राख्दै राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले यस्तो चेतावनी दिएका हुन्।
उनले शान्तिपूर्ण आन्दोलनकै माध्यमबाट आफ्ना माग राखिरहेको स्पष्ट पार्दै भने, “हामीलाई कसैले आक्रमण गर्छ भने प्रतिकार गर्न तयार छौँ।” राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्ने आलोचना अस्वीकार गर्दै उनले राष्ट्रिय झण्डा बोक्नेहरुलाई दोष लगाउनेहरु नै अराष्ट्रिय भएको टिप्पणी गरे।
“राजसंस्था पुनःस्थापना, नेपाललाई हिन्दु राष्ट्र बनाउने, संघीयता खारेज गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउने हाम्रो मूल एजेन्डा हो,” उनले भने, “यी मागहरू पुरा नहुन्जेल आन्दोलन जारी रहनेछ।”
संयोजक सुवेदीले आफूहरुको आन्दोलन राष्ट्रहितमै केन्द्रित रहेको दाबी गर्दै सबैलाई दलगत झण्डाभन्दा अघि राष्ट्रको झण्डा अँगाल्न आह्वान गरे। “नवराज मर्छ भने पनि अर्को राज आन्दोलन अघि बढाउनेछ,” उनले भने, “हामी थक्दैनौं, झुक्दैनौं र देश बचाउने अभियान निरन्तर अगाडि बढाउँछौं।”
उनले वृद्ध नेताहरुले पनि विश्वमा ऐतिहासिक परिवर्तन ल्याएको उदाहरण दिँदै आफूले पनि यस्ता ठूला कार्य गर्न सक्ने आत्मविश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक मूल्य र राष्ट्रिय पहिचानको संरक्षणमा गम्भीर बहस र एकता आवश्यक रहेको धारणा पनि राखे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया