काठमाडौंं। धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमिसन मागेको आरोपका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। बुधबार बोर्डको कार्यालयमा छापा मार्दै अख्तियारले आईपीओ प्रक्रियामा रहेका ८९ कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको छ।
अख्तियारका अधिकारीहरू बुधबार दिउँसो खुमलटारस्थित बोर्ड कार्यालय पुगेका थिए। स्रोतका अनुसार, आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल अख्तियारले नियन्त्रणमा लिएको हो। यद्यपि, बोर्डका अधिकारीहरुले भने फाइल अध्ययन मात्रै गरेको बताएका छन् ।उक्त फाइलमा जलविद्युत् समूहका ४३ कम्पनीको १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको १९ करोड ३ लाख कित्ता सेयर पनि समेटिएको छ।
धितोपत्र बोर्डमा ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीसँग ७ प्रतिशत र ५० करोडभन्दा बढी पुँजी भएकासँग ७ प्रतिशतभन्दा बढी कमिसन माग गरिएको आरोप लगाइएको छ।
इप्पानका पदाधिकारीहरूले धितोपत्र बोर्डले आईपीओ अनुमति प्रक्रियामा आर्थिक चलखेल गरेको आरोप लगाएका थिए। इप्पानको आरोपबारे संसद्मासमेत छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा बोर्डविरुद्ध छानबिनको माग गरेको थियो।
धितोपत्र बोर्डमा ८९ कम्पनीका ५६ अर्ब ७ करोड रुपैयाँ बराबरका ४० करोड ४७ लाख कित्ता सेयरको आईपीओ अनुमति प्रक्रियामा रहेको छ। बुधबारको छापासँगै उक्त प्रक्रियामा रहेका फाइलहरू अख्तियारको नियन्त्रणमा पुगेका छन् । अख्तियारको छानबिन प्रक्रिया प्रारम्भ भएसँगै आईपीओ निष्कासन प्रक्रियामा ढिलाइ हुने अनुमान गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया