असार १, २०८२ आइतबार June 15, 2025

नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न कांग्रेसको माग

काँग्रेस केन्द्रीय सदस्य शिवाकोटी नेतृत्वको टोलीले बुझायो ध्यानाकर्षणपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ जेठ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि विशेष ध्यान दिन नेपाली कांग्रेसले अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा आयोजित बजेट तथा नीति संवाद कार्यक्रममा संकलित सुझावहरू अर्थमन्त्री पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले नवउद्यमशीलताको प्रवर्द्धन, स्टार्टअप नीति कार्यान्वयन, सस्तो ब्याजदरमा कर्जाको पहुँच, र कर छुटजस्ता आवश्यक प्रावधानहरू बजेटमा समावेश गर्न आग्रह गरेको हो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पुस्तकालय विभाग प्रमुख अजयबाबु शिवाकोटीले बजेटमा नवउद्यमीहरूलाई प्रोत्साहित गर्ने खालका नीतिगत तथा कार्यक्रमगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। “स्टार्टअप नीति पूर्ण रूपमा कार्यान्वयन हुनु जरुरी छ,” शिवाकोटीले भने, “यसका लागि सहुलियतपूर्ण कर्जा, कर छुट तथा संरचनात्मक सहजीकरण आवश्यक छन्।”

May be an image of 4 people and people studyingकर सुधारका सन्दर्भमा पनि शिवाकोटीले दोहोरो कर हटाइ एकद्वार प्रणाली कार्यान्वयन गर्न, कर कार्यालयमा जबाफदेहिता अभिवृद्धि गर्न र डिजिटल कर प्रणालीको विकास गर्न आग्रह गरे।

उक्त अवसरमा बुझाइएको प्रतिवेदनमा शिक्षा क्षेत्रमा सुधार, कृषि क्षेत्रको सशक्तीकरण, कर सुधार, र नवप्रवर्तन प्रवर्द्धनजस्ता रणनीतिक सुझावहरू समेटिएको छ।

सुझाव प्राप्त गर्दै अर्थमन्त्री पौडेलले आगामी बजेटमा उद्यमशीलता, नवप्रवर्तन र लघु उद्यमको प्रवर्द्धनमा आवश्यक नीति तथा कार्यक्रम समावेश गरिने प्रतिबद्धता जनाए। “उद्यमशीलता विकासका लागि वातावरण निर्माण गर्नेतर्फ सरकार प्रतिबद्ध छ,” उनले भने, “बजेटमार्फत यसको कार्यान्वयन सुनिश्चित गरिनेछ।”

कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलता जस्तो गम्भीर विषयमा सरोकारवालाबीच प्रभावकारी छलफल गरी साझा धारणा बनाउने आवश्यकतामाथि प्रकाश पारे। उनले सरकार, निजी क्षेत्र, युवा, र शिक्षाविद्हरूबीच सहकार्यबाट मात्रै समृद्धिको बाटो खुल्ने बताए।

उक्त कार्यक्रमले नवउद्यमशीलता र आर्थिक सशक्तीकरणको बहसलाई राजनीतिक दल र नीति निर्माण तहसम्म पुर्याएको आयोजकहरूको विश्वास छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया