असार १, २०८२ आइतबार June 15, 2025

सर्वोच्चको निर्णय मान्छौं, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले

लामिछानेको मुद्दा राजनीतिक भएकोले आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानूनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए ।

‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छौं ।’

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए ।

‘केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । संसद र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत रूपमा अगाडि बढ्छौं’, उनले भने ।

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उनलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिरिएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया