असार १, २०८२ आइतबार June 15, 2025

भाँचिदै पुलहरु, भासिदै राजमार्ग

नेपालको विभिन्न स्थानमा गरी सरकारी तहबाट २ वटा र निजी स्तरबाट ११ वटा गरी धर्मकाँटाहरु हाल सञ्चालनमा छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सवारी र राजमार्गहरु जीवनका आधार हुन्, राजमार्ग जोड्ने पुलहरु, जीवन यात्राका पनि पुल हुन् । पछिल्लो समय कतै प्राकृतिक त कतै मानवीय कारण राजमार्ग र पुलहरुमा क्षति हुँदा मानवीय तथा भौतिक क्षति पनि बढ्दो छ ।

त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको हेटौंडा–भैसे सडक खण्डमा पर्ने चौकिटोलको सडक भासिएपछि अहिले मर्मत गरिदै छ । साँघुरो सडक मर्मत हुँदै गर्दा र डाइभर्सन गर्ने विकल्प समेत हुँदा सवारी सञ्चालनमा कठिनायी भएको छ ।

२०८२ बैशाख २९ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुबारी खोलाको पुल भाँचिएपछि अहिले राजमार्ग डाइभर्सन गरिएको छ । राजमार्गको भारवहन क्षमताभन्दा बढी वजनका सवारी गड्दा पुल भाँचिएको हो । घटनापछि डाइभर्सन निर्माण नहुञ्जेल झण्डै ५६ घण्टा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको थियो । यसअघि २०७९ साल असारमा पनि ओभरलोड कै कारण यो पुलको बीच भाग चर्किएको थियो।

सोही दिन २०८२ वैशाख २९ मै इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि अहिले पनि यातायात सञ्चालनमा समस्या भएको छ ।२०८१ पुस २६, पूर्वी नवलपरासीमा रहेका विनयी खोलाको दुम्कीबासमा पुल भाँचियो । पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग सवारी सञ्चालनमा समस्या भएको छ ।

२०७६ साउन २९ मा अरुणखोला पुल, मध्यविन्दु नगरपालिका–११ (पूर्वी नवलपरासी) सडकखण्डको अरुणखोलामा पुल भासिएको थियो । लोकाहा खोलाको पुल, देवचुली नगरपालिका–१३ (पूर्वी नवलपरासी) २०७३ मङ्सिर २५ मा ना. ६ ख ३०१७ नम्बरको ट्रकको ठक्करबाट यो पुल भाँचिएको थियो।

यी घटना केही उदाहरण मात्रै हुन् ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, पुल महाशाखा, सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालका अनुसार पुलहरु भाँचिनुको कारणहरु विभिन्न भएपनि अत्यधिक भारवहन पहिलो कारण हो । सामान्यतः एक सय टन भार क्षमता भएका गाडीमा एक सय पचास टनसम्म बोकेर ल्याउने गरिएका उनले बताए ।

हाल नेपालको राजमार्गमा सञ्चालनमा रहेका अधिकांश पुलहरू करिब ५० वर्ष पुराना छन् । जुन तत्कालीन समयको सवारी चाप तथा भार क्षमता अनुसार निर्माण गरिएका हुन्। अहिले दैनिक हजारौँ सवारीसाधन र क्षमताभन्दा बढी भार बोकेका मालवाहक गाडीहरू गुड्दा यी पुराना पुलहरूले भार थेग्न नसकेका अवस्थामा पुगेकाले समस्या भएको नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य गोकर्ण पराजुली बताउँछन् ।

नयाँ निर्माण भएका पुलबाहेक पूर्व–पश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलको भारवहन क्षमता अहिलेको आवश्यकताभन्दा कम छ । यस्ता पुलहरु तथा राजमार्गको क्षमता सुरक्षाको लागि नेपाल सरकारले नियम कानूनको पूर्ण पालनामा कडाइ गर्दै नयाँ बन्ने संरचनाको क्षमता उच्च राख्नुपर्ने केन्द्रीय सदस्य पराजुलीले बताए ।

किन भाँचिन्छन् पुलहरु ?
हालसम्मको घटनाहरु हेर्दा पुलहरु भाँचिएका र सडकहरु भासिएका पहिलो कारण हुन् अत्यधिक भारको असर । क्षमताभन्दा बढी भारले पुल तथा राजमार्गहरुमा असर पर्ने गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, पुल महाशाखा, सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ ।

सडकको डिजाइन गर्दा निर्धारण गरिएको भार क्षमताभन्दा धेरै वजन बोकेका ट्रक, ट्रिपरलगायतका सवारी साधनहरू पुलमाथिबाट गुडेपछि पुलको संरचनामा अत्यधिक भार पर्छ । एक पटकमा एक वटामात्रै भारयुक्त गाडी÷ट्रकहरु वारपार गर्न भनिएको सवारीहरु प्रतिक्षा गर्दैनन्, एकै पटक ४ वटासम्म सवारीहरु वारपार गर्छन् । जसको वजन पुलले धान्नै सक्दैन ।

नेपालको भौगोलिक धरातल पनि अर्को कारण हो । पाहाडी राजधार्गहरुमा जमिनको संरचनाको कारण राजमार्गहरु भासिने गरेका छन् । यसरी राजमार्ग भासिने र पुलहरु भाँचिने अर्को कारण हो अनुगमनको कमी । भार क्षमता जाँच गर्ने संयन्त्रको प्रभावकारी अनुगमन नहुँदा चालकहरूले क्षमताभन्दा बढी भार बोक्ने गर्छन्। नेपालको विभिन्न स्थानमा गरी सरकारी तहबाट २ वटा र निजी स्तरबाट ११ वटा गरी धर्मकाँटाहरु हाल सञ्चालनमा छन् ।

तर ति धर्मकाँटाहरुमा भारयुक्त सवारीको नियन्त्रण छैन । “नाम मात्रैका धर्मकाँटाहरु छन्, तिनैले धर्म धानेका छैनन” यातायात व्यवसायी हरि राउत भन्छन् “धर्मकाँटासँग ट्राफिक प्रशासनको जिम्मेवारीमाथि पनि प्रश्न उठ्ने गरेको छ ।”

यसैगरी पुलहरु भाँचिने अर्को कारण हो पुराना पुलहरूको डिजाइन । पुराना पुलहरू (जस्तै नेपालका पूर्व–पश्चिम राजमार्गमा बनेका अधिकांश पुलहरू तत्कालीन समयको सवारी चाप र भार क्षमतालाई ध्यानमा राखेर डिजाइन गरिएका थिए। हालको सवारी चाप र मालवाहक गाडीहरूको भार अत्यधिक बोक्दा ती पुलहरूले भार थेग्न सक्दैनन्।

दशकौं पुराना पुलहरूमा प्रयोग भएका निर्माण सामग्री फलाम, कंक्रिटको आयु सकिएको हुन सक्छ वा ती सामग्रीहरू अहिलेको तुलनामा कम गुणस्तरका हुन सक्ने आँकलन पनि व्यवसायीहरुले गर्न थालेका छन् ।

कतिपय पुलहरु बन्दाबन्दै भाँचिएका उदाहरण पनि छन् । जस्तै बागमती प्रदेशको रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल २६ वैशाख २०८२ मा भाँचिएको छ। निर्माणको अन्तिम चरणमा रहेको ५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमै भाँचिएको हो । २०८२ असार मसान्तसम्म पुलबाट सवारी आवागमन खुलाइने तयारी निर्माण गरिदै थियो । यस घटनामा न्यून गुणस्तरको निर्माण सामग्री आशंका गरिएको छ । निर्माण प्रक्रियामा गुणस्तरहीन सामग्रीको प्रयोग वा निर्माण मापदण्डको पालना नगर्दा पुलको जग, बिम वा अन्य संरचना कमजोर बन्न सक्छ ।

मर्मत सम्भारको कमी अर्को कारण कारण हो । नियमित निरीक्षणको अभाव तथा भएका सानातिना सानातिना क्षतिहरू पहिचान गर्ने, नियमित निरीक्षण गरेर भएका क्षतिहरू ठूला समस्यामा परिणत हुन नदिने परिपाटीको विकास छैन । सरकारी तवरबाट यस्ता त्रुटी सच्याउनु पर्ने नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि हेटौंडाका कानून सल्लाहकार मुकुन्द अधिकारी बताउँछन्। आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया