असार १, २०८२ आइतबार June 15, 2025

पूर्वसभामुख महराविरुद्ध यौन हिंसाको उजुरी दिने रोशनी शाही मृत फेला

आत्महत्या वा अन्य कुनै कारणबाट मृत्यु भएको भन्नेबारे औपचारिक निष्कर्ष पोस्टमार्टम र अनुसन्धानपछि मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन् । सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।

जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।

प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

शाही पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा विरुद्ध ६ वर्षअघि जबर्जस्ती करणीको आरोपमा प्रहरीमा उजुरी दिने महिला हुन्। त्यसबेला उनको उजुरी निकै चर्चामा आएको थियो र त्यसमा महरालाई केही समय हिरासतमा पनि राखिएको थियो। पछि उनले उजुरी फिर्ता लिएपछि मुद्दा अदालतबाट खारेज गरिएको थियो।

शाहीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले बहुआयामिक अनुसन्धान सुरु गरेको जनाएको छ। आत्महत्या वा अन्य कुनै कारणबाट मृत्यु भएको भन्नेबारे औपचारिक निष्कर्ष पोस्टमार्टम र अनुसन्धानपछि मात्रै आउने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया