श्रावण ४, २०८२ आइतबार July 20, 2025

पूर्वराष्ट्रपति भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्कंदै

बीआरआई कार्यान्वयन चाँडो गर्न चीनको जोड, भण्डारीले सम्झौताहरू स्मरण गराउँदै विकासमा सहयोगको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ। भ्रमणका क्रममा चिनियाँ नेतृत्वले उहाँलाई वरिष्ठ नेताको हैसियतमा सम्मान गर्दै नेपालमा वाम एकता र राजनीतिक स्थायित्वका लागि पहल गर्न सुझाव दिएको छ।

भण्डारीले चिनियाँ उपराष्ट्रपतिको साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओलगायत उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा लिउले नेपालको राजनीतिक स्थायित्वका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त गरेका थिए। एमालेले भण्डारीको भ्रमणलाई पूर्वराष्ट्रपतिको हैसियतमा भएको भने पनि सीपीसीले उनलाई एमालेका वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको थियो।

भ्रमणको क्रममा भण्डारीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको शीघ्र कार्यान्वयन र नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा जोड दिनुभएको थियो। उहाँले चीनसँगको विगतको समझदारीलाई स्मरण गर्दै नेपालको समग्र विकासका लागि चीनको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो।

स्मरणीय छ, पूर्वराष्ट्रपति भण्डारीको निमन्त्रणामा सन् २०१९ (२०७६ असोज) मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुभएको थियो। त्यसै क्रममा नेपाल–चीनबीच विभिन्न महत्वपूर्ण सम्झौताहरू भएका थिए।

भण्डारी गत जेठ १० गते चीन प्रस्थान गर्नुभएको थियो। भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख एवं सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा लगायत सहभागी थिए।

सीपीसीले बेइजिङमा गत सोमबार आयोजना गरेको छिमेकी देशका नेताहरूको सम्मेलनमा भण्डारीलाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरिएको थियो। उनले गान्सु प्रान्तको डुनहुवाङमा आयोजित सभ्यता आदानप्रदान सम्वाद कार्यक्रममा पनि सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा भण्डारीले चिनियाँ राष्ट्रिय जनकंग्रेसका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष ची बिंग्सुआनसँग समेत भेटवार्ता गर्नुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया