श्रावण ४, २०८२ आइतबार July 20, 2025

९७ वर्षीया भट्टले नागरिकता पाउँदा…

गाउँमै नागरिकता उपलब्ध गराउने पालिकाको व्यवस्थापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० जेठः  दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने  व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई  उनीहरुको घरमै पुगेर  नागरिकता प्रदान गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस –६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भन्नुभयो, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ । ”

जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमैै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिनुभयो ।

टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेको थिए  । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र रु एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा रु तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया