काठमाडौँ, २२ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्धका विविध आयाम तथा नेपाल–रूस सम्बन्धको सुदृढीकरणका लागि आगामी सम्भावित सहकार्य सम्बन्धमा महत्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर मित्रवत् सम्बन्ध रहिआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ । नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिएको छ ।” उहाँले नेपालमा पूर्वाधार तथा मानवसंशाधन विकासमा रूसले लामो समयदेखि सहयोग पु¥याउँदै आएको स्मरण गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपतिले नेपाल–रूस सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ आयाम थपिँदै द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–रूस साझेदारी वाणिज्य, प्रविधि, शिक्षा तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा विस्तार गर्न सकिने बताउँदै नेपाल सरकार त्यसका लागि सक्रिय रूपमा पहल गरिरहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले आगामी रूस दिवस अवसरमा महामहिम राजदूतमार्फत रूसी जनताको सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
नेपालका लागि रुसी महासङ्घका महामहिम राजदूत एलेक्सी नोभिकोभले नेपाल–रूस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया