काठमाण्डौं, जेठ २२ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले आफ्नो चौथो क्याबिनेट मिटिङ राजधानी काठमाण्डौंमा भव्य रूपमा आयोजना गर्ने तयारी पूरा गरेको छ। डिष्ट्रिक्ट अन्तर्गतका ५ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको यो बैठक फेलोशिप अवार्ड सेरोमनीको रूपमा समेत आयोजना हुँदैछ।
नेपालभरका १५ डिष्ट्रिक्टमध्ये सक्रियता, सेवामूलक कार्यक्रमको प्रभाव र व्यवस्थापन पक्षका दृष्टिले अग्रणी मानिने डिष्ट्रिक्ट ३२५ के को यो चौथो क्याबिनेट बैठक लायन वर्ष २०२४–२५ को अन्तिम बैठक हो।
काठमाण्डौंको बिजी बैंकेट गोंगबुमा हुने क्याबिनेट मिटिङमा सहभागी हुन डिष्ट्रिक्ट अन्तर्गतका क्लब अध्यक्ष, पदाधिकारी, पूर्व गभर्नर (PDG), सिनियर लायन सदस्यहरू लगायत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आजै सम्पन्न भएको क्याबिनेट सचिव लायन महाप्रसाद पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार मिटिङ सफल बनाउन सांस्कृतिक, व्यवस्थापकीय, स्वागत, सत्कारलगायतका विभिन्न उपसमितिहरू गठन गरिएका छन्। “कार्यक्रमलाई सभ्य, भव्य र प्रेरणादायी बनाउन सबै पक्ष सक्रिय छन्,” सचिव पाण्डेले भन्नुभयो।
डिष्ट्रिक्ट गभर्नर लायन निरा बज्राचार्यले काठमाण्डौंमा आयोजना हुन लागेको क्याबिनेट बैठक ‘ऐतिहासिक, स्मरणीय र प्रेरक’ बन्ने विश्वास व्यक्त गर्नुभयो।
“कार्यकालभर विभिन्न सेवामूलक अभियानमा सक्रिय लायन्स प्रतिनिधिहरूको अनुभव साटासाट, समिक्षा र उत्साहवर्धनका लागि यो बैठक महत्वपूर्ण हुनेछ,” गभर्नर बज्राचार्यले भन्नुभयो।
क्याबिनेट बैठकको एक प्रमुख आकर्षण सेवा मूल्याङ्कनका आधारमा प्रदान गरिने सम्मान तथा पुरस्कार रहनेछ। वर्षभरि विभिन्न क्षेत्रका क्लबहरूले गरेका सामाजिक, स्वास्थ्य, वातावरणीय र युवा सशक्तीकरण लगायतका सेवाहरूको समग्र मूल्याङ्कनपछि उत्कृष्ट क्लब र पदाधिकारीहरूलाई अवार्ड प्रदान गरिनेछ।
लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालले हरेक तीन महिनामा क्याबिनेट बैठक गर्ने परम्परा अनुरूप यो वर्षको अन्तिम चौथो बैठक हो। पहिलो, दोस्रो र तेस्रो बैठकहरू सम्पन्न भइसकेका छन् भने यो चौथो बैठकले वर्षको सेवा, प्रशासनिक संयोजन र भावी योजना निर्माणको निष्कर्ष दिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया