श्रावण ४, २०८२ आइतबार July 20, 2025

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

त शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा रु ४६ हजार ३०० रकम सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, २४ जेठः हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ ।

यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौँलगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन् । यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा रु डेढ करोड बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम सुरुआत गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ ।

पहराको ढुङ्गामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ ।

गाउँपालिकाले आर्थिक वर्षको २०८१÷८२ साउनदेखि वैशाखसम्म रु ४२ लाख आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई रु ५० र बाह्य पर्यटकलाई रु १०० शुल्क कायम गरेको छ ।

अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक रु ४६ हजार ५०० मा भाडामा लगाएको छ ।

गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा रु ४६ हजार ३०० रकम सङ्कलन भएको थियो । उहाँले भन्नुभयो, “उक्त रकम अहिलेसम्मकै धेरै रकम सङ्कलन भएको हो, अन्य दिनमा कम्तीमा रु ८-१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ ।”

आगामी वर्ष वार्षिक रु एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उहाँले भन्नुभयो, “पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।”

गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ । आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ ।

पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार