श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २३ जेठः सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिनुभयो । “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ”, उहाँले भन्नुभयो, “सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।”

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ । यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ ।

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघामा फैलिएको छ । पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको रु एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार