असार २८, २०८२ शनिबार July 12, 2025

स्वयंसेवी निःशुल्क रगतमा चर्को शुल्क

एक जना रक्तदाताबाट निःशुल्क लिएको रगतबाट तीन/चार रक्ततत्व उत्पादन गरेर रक्ततत्व अनुसार शुल्क असुल गरिरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १ गते । बिरामीलाई बचाउनका लागि स्वयंसेवी रक्तदाताले निःशुल्क रूपमा रक्तदान गर्ने गर्दछन् तर त्यो रगतलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने बाध्यता छ । हाल नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले रगतको व्यवस्थापन गर्ने गर्दछ । एक जना रक्तदाताबाट निःशुल्क लिएको रगतबाट तीन/चार रक्ततत्व उत्पादन गरेर रक्ततत्व अनुसार शुल्क असुल गरिरहेको आरोप स्वयंसेवी रक्तदाताको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदाताले मानवताको नाताले निःशुल्क उपलब्ध गराएको रगतलाई विभिन्न रक्ततत्व उत्पादन गरेर रक्ततत्व अनुसार छुट्टाछुट्टै रकम असुल गर्ने गरेको आरोप लगाउनुभयो । उहाँका अनुसार रक्तदाताबाट निःशुल्क लिएको रगत होलब्लड, प्लेटेलेट्स, प्लाज्मा र क्रियोप्लेट जस्ता कम्पोनेन्ट (रक्ततत्व) उत्पादन गरेर छुट्टाछुट्टै रकम लिइने गरेको छ ।

“एक जनाको रगत लिएर चार ठाउँबाट रकम असुल गर्ने धन्दा अन्त्य हुनु पर्छ,” रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले भन्नुभयो, “रगतमा सिधै लुट हुनबाट राज्यले जोगाउनु पर्छ ।”

यता नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले रगतमा विभिन्न शीर्षकमा शुल्क लिनुपर्ने बाध्यता भएको बताउनुभयो । “रगतको परीक्षणलगायत प्रशासनिक खर्चका लागि उक्त रकम लिइएको हो,” निर्देशक गुप्ताले भन्नुभयो, “यदि सरकारले सम्पूर्ण रूपमा रगत निःशुल्क गर्दछ भने रेडक्रसले निःशुल्क रगत वितरण गर्ने छ ।”

निर्देशक गुप्ताले हाल गण्डकी प्रदेश र बागमती प्रदेशले रगत निःशुल्क गरेको जानकारी दिँदै सरकारले रगतको शोधभर्ना गर्ने हो भने बिरामीले रगत निःशुल्क रूपमा प्राप्त गर्न सक्ने जानकारी गराउनुभयो । निर्देशक गुप्ताले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभरका जुनसुकै अस्पतालमा गए पनि रगत निःशुल्क उपलब्ध गराएको जानकारी दिँदै पछि उक्त रगतको शोधभर्ना गर्ने गरेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीले सरकारले तोकेको मूल्यभन्दा एक पैसा बढी शुल्क नलिएको दाबी गर्नुभयो ।

बागमती प्रदेशले भने प्रदेशका १३ वटा अस्पतालमा उपचार गराउने बिरामीको निःशुल्क रगत प्रदान गर्ने गरेको छ । बागमतीले कान्ति बालअस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताललगायतमा भर्ना भएका बिरामीको रगत शोधभर्ना गर्ने गरेको छ । ती अस्पतालमा निःशुल्क रगत पाउनलाई बागमती प्रदेशको नागरिकता भने हुनु पर्छ ।

नेपाल रेडक्रस सोसाइटीले नेपालमा एक वर्षमा दुई लाख ९४ हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक गुप्ताका अनुसार अन्य देशभन्दा नेपालको रगत अत्यन्तै सुरक्षित रहेको छ । कतिपय देशमा दुई प्रतिशतमा एचआइभी देखिने गरेको तर नेपालमा एचआइभी ०.०१४ प्रतिशत रहेको छ । हेपाटाइटिस बी ०.३ प्रतिशत, हेपाटाइटिस सी ०.२९ प्रतिशत रहेको गुप्ता बताउनुहुन्छ ।

यसैबिच शनिबार विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । मानव रगत समूह ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्डस्टिनरको जन्मदिनको अवसर पारेर २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा वनमन्त्री ऐनबहादुर शाही ठकुरीले बिरामीलाई रगत अपरिहार्य रहेको भन्दै निःशुल्क गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले रक्तदाताको सङ्ख्या बढाउँदै लैजानुपर्ने बताउनुभयो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार