काठमाडौँ, असार १ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जनताले अनुभूति गर्न सक्ने बनाउनु आवश्यक रहेको भन्दै सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती समारोहलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कर्मचारीतन्त्र लोकतन्त्रको स्थायी संरचना भएको उल्लेख गर्दै जनताको विश्वास जित्न सक्ने गरी काम गर्नुपर्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्तिको विकास र सुशासनप्रति प्रतिबद्धता कायम गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रले जनअपेक्षा पूरा गर्न सक्ने धारणा राख्नुभयो।
राष्ट्रपति पौडेलले भने, “जबसम्म नागरिकको हकका लागि सहज पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्र मजबुत हुन सक्दैन भन्ने यथार्थ बिर्सन हुँदैन।”
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनविश्वास उच्च रहेको बताउनुभयो। उहाँले निष्पक्षता, योग्यता र स्वच्छतामा आयोगले राखेको दृढता र त्यही आधारमा निजामती सेवा, सुरक्षा निकाय तथा अन्य सरकारी संस्थामा जनशक्ति छनोट गरेकोप्रति प्रसन्नता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले आयोगलाई प्रविधिमैत्री र समयानुकूल बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। उहाँले आयोगले समयानुकूल परीक्षा प्रणाली सुधार गरेर योग्य जनशक्ति छनोट गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।
हीरक जयन्तीको अवसरमा आयोगमा रहेर उत्कृष्ट कार्य गरेका हालका तथा पूर्वकर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया