असार २८, २०८२ शनिबार July 12, 2025

प्रदेश डीआईजीले खटाएका प्रहरी नै रकम असुली धन्दामा

उनीहरू र अन्य दुई जनालाई एक व्यापारीसँग ५ लाख रुपैयाँ जबर्जस्ती असुली गरेको आरोप...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामान्य रूपमा बुझ्दा ‘घुमुवा’ भनेको सादा पोसाकमा खटाइने प्रहरी हो । उनीहरूलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हुन्छ । तर, पछिल्ला वर्षहरूमा उनीहरू जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय भएको देखिन्छ ।

यसको पछिल्लो उदाहरण बनेका छन् लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना र चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका एक जना सशस्त्र प्रहरी जवान ।

मोबाइल पसल सञ्चालकबाट ५ लाख रूपैयाँ असुली गरेपछि पक्राउ

उनीहरू र अन्य दुई जनालाई एक व्यापारीसँग ५ लाख रुपैयाँ जबर्जस्ती असुली गरेको आरोप लागेको छ र यही केसमा उनीहरू पक्राउ पनि परिसकेका छन् । पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हबलदार मोहम्मद सफिक खान र परमानन्द कुर्मी, चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेकट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आफूलाई अभियन्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।

घटनामा संलग्न प्रहरी सहायक हबलदारहरू खान र कुर्मी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेन्द्रप्रसाद भट्ट स्वयंले घुमुवाका रूपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति भएको खुलेको छ । उनीहरूको दरबन्दी भने लागूऔषध नियन्त्रण ब्युरोमा रहेको छ । डीआईजी भट्टले उनीहरूलाई मौखिक रूपमा जिम्मेवारी दिएका जनाइएको छ ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कनजिकै ‘थ्रीस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

उजुरी दर्ता भएपछि प्रहरी सहायक हबलदार खान र कुर्मी, भण्डारी र रिजाललाई २८ जेठमा र सशस्त्र जवान चौधरीलाई २९ जेठमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार सादा पोसाकमा आएका ती व्यक्तिले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागूऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए ।

व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी५०एए ९८८५) को कारमा आएका ती व्यक्तिको गतिविधि सीसीटिभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सूर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ ।

२१ जेठमा रकम असुली गरेका घुमुवा प्रहरीका विरुद्ध व्यवसायीले २८ जेठमा उजुरी दिएका थिए । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । रकम बुझाउने व्यवसायीका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

के भन्छ लुम्बिनी प्रदेश प्रहरी ?

यता, घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरका प्रमुख तथा डीआईजी राजेन्द्रप्रसाद भट्टसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रदेश प्रहरी कार्यालयको सार्वजनिक मोबाइल नम्बर ९८५७०८४४४४ मा बारम्बार फोन सम्पर्क गरे पनि फोन उठेन ।

डीआईजी भट्टले लुम्बिनी प्रदेश प्रहरीको वेबसाइटमा राखेको कार्यालयको मोबाइल नम्बरसमेत हटाएका छन् । यसअघिका डीआईजीले वेबसाइटमा कार्यालयको नम्बर राखेका थिए । जसका कारण सम्पर्क गर्न चाहनेका लागि सजिलो माध्यम बनेको थियो ।

को हो घुमुवा प्रहरी ? बारम्बार किन विवादमा ?

वास्तवमा घुमुवा प्रहरी भनेर छुट्टै दरबन्दी नभए पनि तल्लो तहदेखि माथिल्ला तहका प्रहरी कार्यालयहरूले पनि घुमुवा राख्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयहरूले नै ५ देखि १० जनासम्म घुमुवा राखेको देखिन्छ । जिल्लातिर प्रहरी निरीक्षकको कमान्डमा नै घुमुवा खटाइने गरिएको छ ।

केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जताजता सरुवा हुन्छ, उनीहरूलाई पनि त्यतै लग्ने गरिएको छ । कतिपयको हकमा भने यो लागू हुँदैन । उनीहरूको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरू पनि प्रशस्तै छन् । कहाँकहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरूलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन । यसरी प्रहरी कार्यालयहरूको नेतृत्व गरेका अधिकारीहरूले आफूनिकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलताअनुसार प्रयोग गर्दा उनीहरू बदनाम छन् ।

त्यसो त पछिल्लो समय अख्तियारको फन्दामा परेका घुमुवाको संख्या न्यून भए पनि प्रहरी प्रधान कार्यालको उजुरी छानबिन शाखामा भने उनीहरूको कर्तुतको चाङ लाग्ने गरेको छ । कतिपय घुमुवालाई अन्यत्र सरुवा पनि गरिएका छन् । तर, उनीहरू राजनीतिक पहुँच र प्रहरीको उच्च अधिकारीको सोर्स लगाएर पुनः पुरानै स्थानमा फर्किने गरेका छन् ।

राम्रो अफिसर खटिएका ठाउँमा केही घुमुवाले उत्कृष्ट काम पनि गरेको पाइन्छ । उनीहरू त्यस क्षेत्रमा हुने आपराधिक गतिविधि र अपराधी’bout जानकार रहने हुनाले नतिजा दिन सक्छन् । अपराध अनुसन्धानमा उनीहरूलाई प्रयोग गर्दा त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उदाहरण प्रशस्तै भएको पनि जानकारहरू बताउँछन् । १८ जेठ २०६९ मा भएको सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको महत्वपूर्ण ‘क्लु’ घुमुवा प्रहरीले नै पाएको थियो ।

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरूको असुली धन्दा भने रोकिएको छैन । विशेषः तराइका जिल्लातिर घुमुवा प्रहरीहरू असुलीमा संलग्न हुने गरेको देखिएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार