काठमाडौं, २ असार – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
थापामाथि बागमती नगरपालिका क्षेत्रभित्र अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बिक्री गरेको तथा वन ऐनको उल्लङ्घन गरेको अभियोग लागेको थियो। सोही आरोपमा उनीविरुद्ध १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो माग गर्दै सरकार पक्षले मुद्दा दायर गरेको थियो।
अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई ५० लाख धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार थापाले धरौटी बुझाएपछि उनलाई कारागारबाट रिहा गरिएको छ।
सरकारी वकिल कार्यालय सर्लाहीले दिएको जानकारीअनुसार मुद्दाको पुर्पक्षका लागि थापामाथि थप अनुसन्धान र सुनुवाइ प्रक्रिया अगाडि बढाइनेछ। थापा सर्लाहीको बागमती नगरपालिका-४ का निवर्तमान मेयर हुन्। अवैध उत्खनन र आर्थिक अनियमितताको आरोप लागेपछि उनलाई स्थानीय सरकार सञ्चालन ऐनअनुसार निलम्बन गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया