हेटौँडा, असार ४ गते । मकवानपुर प्रहरीले जुवा तास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१६, गौरिटार रंगशालास्थित मङ्गलबार दामोदर चौलागाईको गोठमा पैसाको हारजित हुने गरी तास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले तास खेलिरहेको अवस्थामा ४५ वर्षीय दामोदर चौलागाईसहित २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
सात बुक तास, नगद ८१ हजार तीन सय ९० रुपियाँ र गोट्टीसहितको काठको लुडो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान तथा कारबाही भइरहेको उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया