भाद्र १, २०८३ सोमबार August 17, 2026

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक नियुक्ति बहुमतले सदर

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदी आदेश गर्ने पक्षमा एवं सपना प्रधान मल्ल, मनोज शर्मा र कुमार चुडालले रिट खारेज गर्ने पक्षमा राय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले साढे ४ वर्षअघि विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारीको नियुक्ति बदर गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको यस फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् ।

सर्वोच्च अदालतले बुधबार मध्यरातमा फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीले आदेश गर्ने पक्षमा एवं सपना प्रधान मल्ल, मनोज शर्मा र कुमार चुडालले रिट खारेज गर्ने पक्षमा राय राखेपछि राय बाझिएको थियो । त्यसपछि बहुमतबाट रिट खारेज भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत १ जेठमा नै सकिएकामा २८ जेठमा निर्णय सुनाउने मिति तय भएको थियो । तर, प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबीच ६ घण्टा लामो छलफल भए पनि निर्णय सुनाइएको थिएन । अन्तिम समयमा आएर १८ असारका लागि मिति सारिएको थियो । झन्डै साढे ४ वर्षदेखि सर्वोच्च अदालतमा रहेको यस मुद्दामा सुनुवाइमा विलम्ब भएको भनेर चर्चा भइरहेको थियो ।

साढे ४ वर्ष वर्षअघिको नियुक्तिविरुद्धको मुद्दा चलिरहेका बेला यसबीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख नै खाली भइसकेका थिए भने धेरै सदस्य पनि उमेर हद र अन्य कारणले अवकाशमा गइसकेका छन् । संवैधानिक इजलासले यस मुद्दामा गत ३० माघदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै अख्तियारसहित ५२ पदमा संवैधानिक नियुक्ति गरेका थिए । संवैधानिक परिषद्को बैठक नै बस्न नसकेको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेर गणपूरक संख्या घटाई ती पदाधिकारीको सिफारिस गरेका थिए । ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले गरेको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा १५ थान रिट दर्ता भएको थियो ।

ओली नेतृत्वको सरकारका पालामा दुईपटक गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति प्रक्रियामा प्रश्न उठाएर अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए । अर्यालसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कीर्तिनाथ शर्मा पौडेललगायतले रिट दायर गरेका थिए । सो नियुक्तिविरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा आफैं सर्वोच्च पुगेका थिए । सो नियुक्तिविरुद्ध १ पुस २०७७ मा र त्यसपछि १४ थान रिट दायर भएका थिए । सो रिटहरूमा लामो समयदेखि पेशी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको थियो ।

३० मंसिर २०७७ र त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतमा पदाधिकारी सिफारिस गरेका थिए । ३० मंसिरमा भएको सिफारिस ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

संवैधानिक परिषद् ऐनमा परिषद्का अध्यक्षसहित ६ सदस्यमध्ये पाँच उपस्थित भए मात्र गणपूरक संख्या मानिने र निर्णय लिन सकिने व्यवस्था थियो । तर, ओलीले त्यसलाई संशोधन गरेर तीन जना उपस्थित भए पनि बैठकको गणपूरक संख्या पुग्नेगरी अध्यादेश ल्याइएका थिए ।

अध्यादेश आएपछिको बैठकमा तत्कालीन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सदस्यद्वय तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मिलेर नियुक्तिको निर्णय गरेका थिए ।

अध्यादेशमा के थियो ?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) २०७७ जारी गरेका थिए । नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । धारा २८४ को उपधारा १ मा प्रधानन्यायाधीश तथा संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति सिफारिस संवैधानिक परिषद्बाट हुने व्यवस्था गरिएको छ ।

उपधारा १ मा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्रीले गर्नेगरी ६ सदस्यीय परिषद्को व्यवस्था गरिएको छ, जहाँ प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश पद रिक्त रहेको तर प्रधानन्यायाधीशकै सिफारिस गर्नुपर्ने अवस्थामा भने कानुनमन्त्री परिषद् सदस्यका रूपमा रहने व्यवस्था छ ।

परिषद्ले नियुक्ति सिफारिस गर्दा सम्भव भएसम्म सर्वसम्मत रूपमा सिफारिस गर्नुपर्ने र सम्भव नभएमा उपलब्ध सदस्यहरूको बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उपलब्धमध्ये ठाउँमा उपस्थित रहेका सदस्यको बहुमतका आधारमा नियुक्ति सिफारिस गर्न सक्नेगरी व्यवस्था गरेका थिए । सोही व्यवस्थाका आधारमा प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदमा दुईपटक गरी ५२ जनालाई नियुक्तिको सिफारिस गरेका थिए ।

तर, त्यतिबेला संसद्समेत विघटन भएका कारण उनीहरूको संसदीय सुनुवाइ भएको थिएन । नियुक्ति सिफारिस भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ नभए सिफारिस भएका व्यक्तिले नियुक्ति पाउने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा उनीहरूले संवैधानिक नियुक्ति पाएका थिए । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार