श्रावण ४, २०८२ आइतबार July 20, 2025

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशका विभिन्न ठाउँमा पानी परिरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाडौं उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।

त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ । पर्वतको माेदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै कास्कीको लुम्लेमा ठूलो वर्षा भएको छ । त्यस्तै लमजुङको भुजुङ क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम छ । सिन्धुपाल्चोकको गुम्थाङ र बाह्रबिसेमा मध्यम वर्षा मापन भएको छ । ती क्षेत्रबाट बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको चन्द्रगढी, अनारमनीमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास छ । कन्काई, मेची, विरिङ, निन्दालगायतका खोलाहरूमा बाढी र होचा भागमा डुबानको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ओखलढुङ्गा, खोटाङ, धनकुटा र आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा मापन गरिएको छ । स–साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम बढेको छ ।

आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया