मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या

जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर (नवलपरासी), १ मङ्सिरः पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताउनुभयो । बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन (मङ्सिर २ गते) आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी सतबिज छर्न प्रचलन रहेको उहाँको भनाइ छ । “देवघाटतर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ” उहाँले भन्नुभयो, “देवघाटको बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।”

देवघाटको समग्र सुरक्षा व्यवस्थालाई मजबुत पार्न स्थानीय प्रशासन र प्रहरीसँग छलफल गरिसकेको बरालको भनाइ छ । “शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने आश्वासन पाएका छौँ” उहाँले भन्नुभयो, “स्नानघाटसमेत हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखेका छौँ ।”

तीर्थयात्रीको सुरक्षालाई ध्यान दिएर बेनी सङ्गममा मागन्तेहरुलाई बस्न नदिनेगरी तनहुँको प्रहरीसँग छलफल गरिएको कार्यकारी निर्देशक बरालले बताउनुभयो । देवघाटको बेनी सङ्गममा जानका लागि पैदल, सवारीसाधन तथा जलमार्गबाटसमेत पुग्न सकिन्छ । देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ ।

पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले २ गतेदेखि नै पुलमा मोटरसाइकल आवतजावत गर्न प्रतिबन्ध लगाइने कार्यकारी निर्देशक बरालले बताउनुभयो । “यो झोलुङ्गे पुल देशकै सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने झोलुङ्गे पुल हो, पुल निकै पुरानो भएको हुँदा पुलका नटबोल्टुहरु हल्लिएका छन्” उहाँले भन्नुभयो, “पुल पुरानो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै ललितपुरमा रहेको सस्पेन्सन ब्रिज तथा झोलुङ्गे पुल महाशाखामा ताकेता गरिरहेका छौँ, तर मर्मत भएको छैन ।”

झोलुङ्गे पुलको कम प्रयोग गर्न तथा पुलको प्रयोग गर्नै परेमा पनि लामबद्ध भएर यात्रा गर्न बरालले तीर्थयात्रुसमक्ष अनुरोध गर्नुभयो । “एकैपटक धेरै यात्रुलाई पुलले नथेग्न सक्छ” उहाँले भन्नुभयो, “यसका लागि लाइन लागेर पुलबाट यात्रा गर्न अनुरोध गरेका छौँ ।” देवघाटमा त्रिशूली नदी र कालीगण्डकी नदी तर्नका लागि ¥याफ्टिङ बोटकोसमेत व्यवस्था भएको भन्दै बरालले नदीमा एकतर्फि डुङ्गा गर्न रु ५० भाडा तोकिएको जानकारी दिनुभयो ।

देवघाटधाममा सतबिज छर्न मङ्सिर २ गतेदेखि नै भक्तजन आउने भएकाले यहाँ सवारीसाधन व्यवस्थापन निकै कठिन रहेको बरालले बताउनुभयो । “हामीले सकेसम्म भक्तजनको भिड कम हुने र सुरक्षित हुनेगरी स्नान गरेर फर्किने गरी व्यवस्था गरेका छौँ” बरालले भन्नुभयो, “ठूला सवारीसाधन चितवनतर्फ र नवलपुरतर्फ पार्किङ गर्ने व्यवस्था गरेका छौँ भने मोटरसाइकल क्षेत्र विकास समितिको कार्यालय अगाडिको चौरमा पार्किङ गर्ने व्यवस्था गरेका छौँ ।”

तीर्थयात्रु लिएर तनहुँ पुगेका ठूला सवारीसाधनले टाउनचोकमा यात्रुहरु झारेर कालीगण्डकी नदीको पुल तरी नवलपुरको केलादीमा पुगेर पार्किङ गर्नुपर्ने बरालले बताउनुभयो । गतवर्ष बालाचतुर्दशीमा सतबिज छर्न करिब एक लाख भक्तजन आएको उल्लेख गर्दै बरालले अहिले पनि त्यही सङ्ख्यामा आउने अनुमान गरिएको बताउनुभयो । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।

सतबिज छर्न चितवनको बाटो हुँदै जाँदा यात्रुहरुलाई सवारीसाधनको जाम तथा झोलुङ्गेपुलको असुरक्षित यात्रा गर्नभन्दा नवलपुरको बाटो भएर बेनी सङ्गम पुग्न गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो हुँदै केलादी पुग्न सकिने बताउनुभयो । “नवलपुरबाट देवघाट पुग्न सहज र सुरक्षित छ, बाटोसमेत कालोपत्र गरिएकाले सहज तरिकाले देवघाट पुग्न सकिन्छ” उहाँले भन्नुभयो, “केलादीघाटमा सवारीसाधन रोकेर कालीगण्डकी नदीमा स्नान गर्न तथा सतबिज गर्न पनि सकिन्छ, बेनीमा जानका लागि पनि पैदल १० मिनेटमा पुगिन्छ ।”

नवलपुर हुँदै यात्रु देवघाट जाँदा सहज हुने उहाँले बताउनुभयो । नवलपुर तथा यस जिल्लाभन्दा पश्चिमतर्फका यात्रु चितवनतर्फ नगइ सिधैँ गैँडाकोटबाट देवघाट जाँदा सहज हुने तिवारीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार