काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा अनेक घटना भएका छन् । आउँदो २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि चयनमा देशभर माइन्युट च्यात्ने र मतपेटिका हराउनेसम्मका घटना भएका हुन् । एमालेले १३ मंसिरमा देशभरिबाट महाधिवेशन प्रतिनिधि चयन गरेको थियो । केही क्षेत्रमा सर्वसम्मत र केही ठाउँमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो । केन्द्रमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई ईश्वर पोखरेलले चुनौती दिने घोषणा गरेपछि त्यसको प्रभाव देशभर देखिएको हो । प्रतिनिधि छनोटमा नै ध्रुवीकरण हुँदा मतपत्र च्यात्नेदेखि कुटाकुटसम्मका घटना भए । कतै वर्तमान सांसद र जिल्ला अध्यक्षसम्म महाधिवेशन प्रतिनिधिमै पराजित भए ।
प्रतिनिधि चयन हुनुअघि नै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको थियो । बझाङमा प्रतिनिधि छनोटका क्रममा एमालेको जिल्ला कमिटीको माइन्युट नै च्यातिएको एक नेताले जानकारी दिनुभयो । पहिला सहमतिमा प्रतिनिधि छनोट गर्ने भन्ने सहमति भएको थियो । तर, सहमतिको नाममा जिल्ला इञ्चार्ज लगायतका नेताहरूसँग सरसल्लाह नै नगरी एकलौटी रूपमा लिस्ट निकालेपछि माइन्युट नै च्यातिएको उहाँले बताउनुभयो । बझाङमा प्रतिनिधिको दुई लिस्ट आएका छन् । बझाङका इञ्चार्ज भैरबबहादुर सिंह र केन्द्रीय सदस्य ऐन महरबीचको गुटबन्दीका कारण दुई फरक–फरक सूची सार्वजनिक भएका छन् ।
मकवानपुरमा पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल प्रतिनिधिमै पराजित हुनुभयो । उहाँ वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा खुल्नुभएको थियो । पोखरेलको पक्षमा खुलेकै कारण आफूलाई हराइएको उहाँले बताउनुभयो । ओलीइतर पक्षमा लाग्दा जिल्ला अध्यक्ष नै प्रतिनिधि हुन पाउनुभएन । तनहुँको क्षेत्र नं. १ मा मतदानमा कुटपिट हुँदा मतपेटिका नै गायव बनाएको घटना सार्वजनिक भएको छ । १३ मंसिरमा नै क्षेत्र नं. १ को मतगणना अनिश्चित समयका लागि स्थगित भएको सूचना सार्वजनिक गरिएको हो । ओखलढुंगामा सबै प्रतिनिधि वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षका विजयी भएका छन् । ओखलढुंगाबाट १२ जना प्रतिनिधि चयन भएका छन् । १२ जना प्रतिनिधि पोखरेल पक्षका छन् । पोखरेलको जन्मठाउँ ओखलढुंगा हो ।
धनकुटामा निर्वाचन भए पनि विवाद भएको छ । धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको छ । एमालेको कोसी प्रदेशमा धनकुटा, खोटाङ र ओखलढुंगाबाहेक सबै जिल्लामा प्रतिनिधि चयन भइसकेको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो । कोसी प्रदेश अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको गृहप्रदेश पनि हो । अध्यक्ष ओलीको गृहजिल्ला झापाबाट ओली पक्षका प्रतिनिधिको वर्चस्व रहँदा पोखरेल पक्षका नेता विनोद ढकालले मोरङमा आफ्नो पक्षमा वर्चस्व हुनेगरी प्रतिनिधि चयन गरेका छन् । मोरङमा ओली पक्षका परशुराम बस्नेतलाई पोखरेल पक्षका नेता कार्यकर्ताले हातपात गरेका थिए । मधेसमा पनि सचिव रघुवीर महासेठको पक्षमा बहुमत प्रतिनिधि चयन भएका छन् ।
बागमती प्रदेशका जिल्लाहरूमा शान्तिपूर्ण रूपमा प्रतिनिधि चयन भएको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा केन्द्रभन्दा प्रदेशको गुट बढी प्रभावशाली रहेको छ । गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटको टक्कर छ । केन्द्रमा दुवै नेता एउटै पक्षमा भए पनि प्रदेशमा गुटगुटको लडाइँ प्रतिनिधि छनोटमा देखिएको हो ।
तनहुँमा विवाद हुँदा अहिलेसम्म प्रतिनिधिको टुंगो लागेको छैन । गुरुङ अहिले पनि ओली टिमबाट महासचिवका लागि आन्तरिक रूपमा समीकरण मिलाउन थालेको नेताहरू बताउँछन् । अर्घाखाँचीमा संस्थापन पक्षका एकलौटी निर्वाचित भएका छन् । गुल्मीमा पनि सहमतिमा प्रतिनिधि चयन भए पनि संस्थापन बहुमत चयन गरेको भन्दै विवाद भएको छ । जिल्लाको पार्टी सचिवमा धर्म विश्वकर्मालाई पनि सर्वसम्मत चयन गरेनन् । सल्यानमा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चुलिएको छ । एउटा समूहले विधि र प्रक्रिया मिचेर होटेलको बन्द कोठाबाट एकलौटी ढंगले प्रतिनिधि छनोट गरेको आरोप लागेको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला हो । अध्यक्ष शाहले नै गृह जिल्लामा आफूनिकट व्यक्तिहरूलाई मात्रै अगाडि सारेको आरोप लगोको छ । सल्यानले आठजना महाधिवेशन प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको थियो । तर, होटेलमा प्रतिनिधि चयन भएको भन्दै विवाद बढेको छ । लुम्बिनी एमालेका अधिकांश पदाधिकारीको प्रदेश हो ।
भृकुटीमण्डपमा हरेक दिन हजार गाडी पार्किङ गर्न ठाउँ बुकिङ
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा प्रत्येक दिन एक हजार गाडी पार्किङ गर्न ठाउँ बुकिङ गरिएको छ । महाधिवेशन आयोजक समिति अन्तर्गतको सवारी व्यवस्थापन उपसमितिले पार्किङका लागि तयारी ठाउँ निश्चित गरेको हो । उपसमिति सचिव रचना खड्काका अनुसार भृकुटीमण्डप क्षेत्रभित्र खुला ठाउँमा व्यवस्थित रूपमा पार्किङ गर्न त्यहाँको नियमअनुसार तिर्नुपर्ने पैसा तिरेरै पार्किङ स्थल बुक गरिएको हो । मंसिर २७ देखि २९ सम्म चल्ने महाधिवेशनमा करिब दुई हजार तीन सय प्रतिनिधि, पदाधिकारी तथा सयौँ पार्टी कार्यकर्ताहरू सहभागी हुनेछन् । भृकुटीमण्डपमा मंसिर २६ गतेदेखिकै लागि स्थान बुक गरिएको छ । उद्घाटन सत्रका लागि भक्तपुरमा छुट्टै तयारी छ । भृकुटीमण्डपभित्र र होटलमा बस्ने प्रतिनिधिका लागि पनि यातायात र पार्किङका अलग-अलग तयारी गरिएको छ । महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने बन्दसत्रलगायत सबै कार्यक्रम भृकुटीमण्डपमा हुनेछन् । उद्घाटनको दिन काठमाडौंतिरबाट जाने सवारी साधनले सल्लाघारी वरै पार्किङ गर्नुपर्नेछ । बनेपातिरबाट आउनेले जगातीभन्दा उतै पार्किङ गर्नुपर्ने छ ।
भृकुटीमण्डपको व्यवस्था हेर्ने समाज कल्याण परिषद् कार्यालयका अनुसार एमालेले फरक-फरक दुई ठाउँको पार्किङस्थल बुक गरेको हो । पहिलो प्लानअन्तर्गत चार सय गाडी पार्किङ हुन्छन् । दोस्रो प्लानअनुसार ६ सय गाडी पार्किङ हुनेछन् । यी दुवै ठाउँका लागि पार्किङ शुल्क दैनिक २५ हजार रुपैयाँ तिर्नुपर्छ । यो रकम आयोजक समितिले भुक्तानी गर्नेछ । सहभागी हुन आउनेहरूले निःशुल्क पार्किङ पाउनेछन् ।
सडकले माग्दैमा पार्टी नेतृत्व परिवर्तन हुँदैन, अबको अध्यक्ष ओली नै हो : गुरुङ
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सडकबाट माग हुँदैमा पार्टी नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले अहिले एमालेमा ओलीको विकल्प नभएको बताउनुभएको हो । ‘अब हुने महाधिवेशन नेतृत्वको हो, नीतिको हामीले गरिसकेका छौँ । नेतृत्व चयन गर्दा हामीले अरू कसैको एजेण्डा पूरा गर्न पर्दैन’, उहाँले भन्नुभयो, ‘एमालेको अध्यक्ष केपी ओली हुनुभएन भन्छन्, देउवा र प्रचण्डले पनि नेतृत्व छाड्नुपर्छ भन्दै छन्, तर सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता फेर्दै जाँदैन । आवश्यक परे केपी ओलीलाई हामीले हटाउने हो नि । ‘जेन–जी’ र सात समुद्रपारिको देशहरूले भनेर पार्टीको नेतृत्व फेरिँदैन ।’
हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया