फागुण ६, २०८२ बुधबार February 18, 2026

मत तान्न ‘भाइरल चटक’ गर्दै उम्मेदवार

सामाजिक सञ्जालको प्रभावले अझ यस्ता शैली मतदाताका मन तान्नसँगै ‘भाइरल’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नि र्वाचनमा उम्मेदवार मतदाताका ध्यान तान्न आफूलाई नम्र, सरल, शालीन र उनीहरूको एजेण्डाअनुकुलको बनाउने प्रयास सामान्य हो । विगतका निर्वाचनमा पनि दलका उम्मेदवार यस्तै नौला शैली प्रयोगमा गर्थे । तर, जेनजी आन्दोलनपछि उदाएका दलका उम्मेदवारले सुरु गरेका केही नयाँ शैली यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् ।

चुनावमा मतदातालाई प्रभावित पार्न गोठमै पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, रोपाइँ गर्ने, धान काट्ने शैली आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पनि देखिँदै छन् । सामाजिक सञ्जालको प्रभावले अझ यस्ता शैली मतदाताका मन तान्नसँगै ‘भाइरल’ समेत हुने पाइएको छ । चुनावी मिति नजिकिँदै जाँदा ‘एटेन्सन सिकर’को यो शैलीले उम्मेदवारलाई चर्चित र विवादास्पद सँगसँगै बनाउने देखिएको छ ।

जहाँ धमला, त्यहाँ हमला

‘धमलाको हमला’ नामक टेलिभिजन ‘टक शो’मा प्रश्नमार्फत हमला गर्ने पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनमा मतदातासामुसमेत ‘हमला’ शैलीमा प्रस्तुत भइरहेका छन् । धमला टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ र ‘धमलाको हमला’बाट जति चर्चामा छन्, त्यस्तै चर्चित र विवादित भएका छन्– रौतहटको चुनावी मैदानमा । उम्मेदवारी दर्ता गरेसँगै मतदाताका घरदैलोमा पुगिरहेका धमलाले मिठाइ पसलमा गएर जेरी हाल्नेदेखि उखुबारीमा गएर उखु काट्न किसानसँगै उत्रिएका छन् । यतिमात्र होइन, खेतमा ट्याक्टर जोत्नदेखि तराईको बाटोमा साइकल चढ्ने र भिडियो सार्वजनिक गर्ने काम गरेरसमेत चर्चामा छन् ।

प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट– ४ मा उम्मेदवार धमला पहिलोपटक भेटिरहेका मतदातालाई चिरपरिचितजस्तै अँगालो मार्दै ‘सञ्चो बिसञ्चो’ सोधिरहेका छन् भने कतै जनताका दुःखमा रोइरहेका छन् । धमलाले बिहीबार रौतहटका किसानको गरिबी देखेर आफूलाई ‘असह्य भएको’ भन्दै ‘अब काठमाडौं नफर्कने र यहीँ घर बनाएर बस्ने’समेत बताए ।

सामाजिक सञ्जालमा ‘भाइरल’ एउटा भिडियोमा धमला पार्किङ गरिएको ट्याक्टरको चालक सिटमा बसेर किसानलाई मलबीउ सहज बनाउने संकल्प गर्छन्, अर्को भिडियोमा उखुबारीमा पुगेर हँसियाले उखु काट्छन्, उखु बोक्छन् । धमलाका यी दृश्य सहज र स्वाभाविकभन्दा पनि ‘हमला’ शैलीमा जनतासँग नजिकँदै चर्चा कमाउने शैलीका रूपमा देखिएको उनकै पार्टीका नेता बताउँछन् ।

सुधनको ‘चटके भरिया’

‘चुनावका बेला मतदातासँग हात जोड्दै हिँडेका राजनीतिक दलका नेतालाई भोटका लागि अनेक गर्छन्’ भन्दै आलोचना गर्नेगरेका सुधन गुरुङ अर्को ‘भाइरल चटक’का कारण चर्चामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गुरुङ त्यस्तै अस्वाभाविक लाग्ने ‘एटेन्सन भिडियो’ सार्वजनिक गरेर ‘ट्रोल’ बनेका हुन् । गोरखा क्षेत्र–१ बाट उम्मेदवार बनेका गुरुङको भारी बोकेको भिडियो पनि सामाजिक सञ्जालमा ‘भाइरल’ छ । भिडियोमा कालो चश्मा लगाएका उनी नाम्लोसहितको भारी बोकेर उकालो लाग्दै गरेको देखिन्छ ।

भोटो र भोजले नेवाः समुदायको मजाक उडाउँदै जगदीश

ललितपुर क्षेत्र–२ बाट उम्मेदवार बनेका निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर पाटनका नेवाः समुदायको मजाक उडाएका छन् । उम्मेदवारी दर्ताको दिन उनी नेवाः पोशाकमा निर्वाचन कार्यालय पुगेका थिए ।

ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर पहिलो निर्वाचनमै एउटा सांसद प्रत्यक्षमा जिताउन सफल कमाण्ड गरेका जिल्ला सभापति बुद्धरत्न महर्जनलाई आफ्नो पूर्ववत् निर्वाचन क्षेत्रबाट विस्थापित गरेका खरेललाई कार्यकर्ताले नै लखेटेका थिए ।

आफूलाई ‘बालेनको खास मान्छे’ भन्दै जिल्ला सभापतिलाई ‘होम ग्राउन्ड’बाट विस्थापित गरेका खरेल अहिले पाटनका नेवाः समुदायको ‘सेन्टिमेन्ट’ तान्ने र महर्जनको टिकट खोसेको आरोपबाट बच्न नेवाः भोजमा नछुटाई जान लागेका छन् । थोरै थोरै नेवाःमै बोल्न र सकिनसकी कण्ठ गरेरै भए पनि नेपाल भाषामा सम्बोधन गर्नसमेत तयारी गरिरहेका खरेल पनि ‘नेवाः समुदाय भड्कन नदिन’ अनेक चटक गरिरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायत राजनीतिक दलमा उम्मेदवारी छनोट तथा आन्तरिक विवाद मिलाउँदै उम्मेदवारी फिर्ता लिने दिनसम्म कुर्नुपरे पनि रास्वपा, आजपालगायतका उम्मेदवार भने ‘भाइरल’ शैलीसहित निर्वाचन प्रचारप्रसारमा होमिइसकेका छन् ।

भोट माग्दै पुस्तकको व्यापार

चर्चित ‘भाइरल’ उम्मेदवारमध्ये एक हुन्, निवर्तमान शिक्षामन्त्री महावीर पुन । म्याग्दीबाट उम्मेदवार भएका पुन आफ्नो पुस्तक व्यापार गर्दै चुनावी कार्यक्रम गरिरहेका छन् । ‘किताब किन्न आओ’ भन्दै टोलटोलमा पुगिरहेका उनी रास्वपासमर्थित स्वतन्त्र उम्मेदवार हुन् ।

आफूले प्रस्ताव गरेका कानुन अघि बढाउनमा ‘प्रधानमन्त्रीको सहयोग नपाएको’ भन्दै गत ५ माघ सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएर रातारात जिल्ला पुगेका पुनले ‘पहिलो नै भैयो कि क्या हो !’ भन्दै ६ माघमा उम्मेदवारी दर्ता गराएका थिए । मतदाताले ‘सरलाई घण्टीमा भोट हाल्ने हो ?’ भनेर सोध्दा ‘मेरो चिह्न आउँदै छ, तिमीहरूले थाहा पाइहाल्छौं नि !’ भन्दै पुन चुनावी प्रचार र सँगै पुस्तक व्यापार पनि गरिरहेका छन् ।

नुवाकोटतिरका अर्का चर्चित उम्मेदवार मतदाताबीच जान्छन् र ‘हजुरको छोरो आयो बुबाआमा’ भन्दै झ्याप्पै मतदाताका गोडा समाएर ढोग्छन् । उनको प्रचारशैलीलाई धेरैले हाँसोको पात्रका रूपमा उडाएका छन् भने ‘राजनीतिक जिम्मेवारीलाई मजाक बनाएको’ भन्दै आलोचना गरेका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार