श्रावण ३, २०८२ शनिबार July 19, 2025

संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उहाँले यसलाई हरहालतमा रोक्नुपर्ने बताउनुभयो । “कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पु¥याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो”, उहाँले भन्नुभयो ।

मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताउनुभयो । परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । “जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष दाहालले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभयो । “मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो ।

संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,” उहाँले भन्नुभयो । नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उहाँले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गर्नुभयो । “प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ”, उहाँले भन्नुभयो ।

सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन शुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उहाँको भनाइ थियो । पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक आजको अवस्थामा प्रवेश गरेको बताउनुभयो । उहाँले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताउनुभयो । केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार संसद् विघटन गरेर असंवैधानिक ढङ्गबाट अगाडि बढेकाले प्रेस स्वतन्त्रता पनि खतरामा परेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको महासङ्घको ठहर रहेको गरेको जानकारी दिनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चार जगतले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले संसद् पुनःस्थापना नभएमा संविधानवाद नष्ट हुनेमा कुनै शङ्का नभएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएको नेकपाले बडापत्र जारी गरेर जनतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । “संसद् पुनःस्थापना भएरै छाड्छ, तर पुनःस्थतापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्छ, यसमा नेतृत्वको प्रतिवद्धता चाहिन्छ”, उहाँले भन्नुभयो । तत्कालीन प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले जननिर्वाचित संस्था संसद् विघटन गरेर प्रधानमन्त्रीले मुलुक र जनतालाई धोका दिएको आरोप लगाउनुभयो । उहाँले सत्य र न्यायको पक्षमा आवाज बुलन्द गर्न पनि सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

चौतारीका पूर्वअध्यक्ष शम्भू श्रेष्ठले सिङ्गो सञ्चार जगत प्रतिनिधिसभा विघटनविरुद्ध उत्रिएको उल्लेख गर्दै अहिलेको लडाइँ सङ्घीय लोकतान्त्रक गणतन्त्रको रक्षा गर्ने र नगर्नेका बीचमा भएको बताउनुभयो । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले नेपाली जनताले निरङ्कुशता कहिल्यै पनि नसहेको र प्रतिनिधिसभा विघटन भित्रको अन्तर्य सही नभएको बताउनुभयो । वर्तमान सरकार गठन भएदेखिनै सञ्जार जगत्लाई अप्ठ्यारोमा पार्न खोजिएको र विभिन्न कानून ल्याएर सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कोसिस गरिएको तर्क गर्नुभयो । वरिष्ठ पत्रकार ओम शर्माले जननिर्वाचित संस्था विघटन गर्न अग्रसर हुने सरकारबाट पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।

परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारले संविधानको रक्षार्थ दृढताका साथ लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । सामुदायिक रेडियो प्रचारक सङ्घ (अको¥याब) का अध्यक्ष सुवास खतिवडाले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको भावनामाथि अन्याय गरेको तर्क गर्नुभयो । प्रगतिशील पत्रकार सङ्घ नेपालका पूर्वअध्यक्ष नारायण शर्माले जनताको पक्षमा वकालत गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वबाटै प्रतिनिधिसभा विघटन हुनु दुभाग्यपूर्ण रहेको बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न सबै पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वसचिव सङ्गीता खड्काले पूर्ण प्रेस स्वतन्त्रताका लागि सम्पूर्ण पत्रकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत प्रेस सङ्गठनमा प्रवेश गर्नुभएको थियो । उहाँलाई सङ्गठनका संयोजक महेश्वर दाहालले स्वागत गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार