श्रावण ४, २०८२ आइतबार July 20, 2025

सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाँदा भ्रष्टाचार र गरीबी बढ्छ – रामचन्द्र पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज  चार स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’  कवि एवं गीतकार एसपी कोइराला र २०७६   कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ ।

रु २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही र गत वर्षका लागि वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ ।  प्राज्ञ सुवेदीका छोराद्वय शरदराज र रुपकराजले राखेको रू १५ लाख अक्षय कोषका ब्याजबाट प्रत्येक वर्ष  ती पुरस्कार प्रदान गर्ने गरेको समालोचकका पुत्र एवं पत्रकार शरदराजले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिभाहरुलाई पुरस्कार वितरण गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभयो ।  पार्टीभित्रको झगडाले विघटन गर्नु न्यायसम्मत नभएको विचार व्यक्त गर्दै पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने तर्क गर्नुभयो ।  न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राख्दै उहाँले राजनीतिक दलका नेतालाई स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरुच संघर्ष गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा डिला सङ्ग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरीबीतर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आउनुपरेको विचार राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले साहित्य र स्रष्टा देशका गहना भएकाले यसको सम्मान गर्नुपर्नेमा जोड  दिनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी र पत्रकार कवीर राणाले साहित्यले समाजलाई नयाँ गति दिने बताउनुभयो । सो अवसरमा पुरस्कृत प्रतिभा विरही र घिमिरेले साहित्य समाजका ऐना भएकाले यसको माध्यमबाट समाजमा नयाँ आयाम थपिने धारणा राख्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया