चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सिफारिशपत्र फिर्ता पठाइएकामा अध्यक्ष तिमिल्सिनाको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गर्नुुभएको छ ।

सिहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोराप्रति आफ्नोे असहमति जनाउनुभयो ।

पत्रमा उल्लिखित ‘सङ्घीय संसद् तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक सङ्घीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन (राष्ट्रियसभा) को भूमिका र गरिमामा प्रहार भएको टिप्पणी गर्नुभयो ।

नेपालको संविधान एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीले सङ्घीय संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै उहाँले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइसहितका संयुक्त समिति सञ्चालनको अधिकार सङ्घीय संसद्को कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको जिकिर गर्नुुभयो ।

अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात सङ्घीय संसद्का दुवै सदनको सम्पत्ति भएको स्मरण गराउँदै अध्यक्ष तिमिल्सिनाले भन्नुुभयो, “संसदीय सनुवाइसम्बन्धी पत्र फिर्तासम्बन्धी प्रक्रियामा सङ्घीय संसद्को माथिल्लो सदन संलग्न नरहेको जानकारी गराउँछु ।”

विगतमा पनि संसदीय सनुवाइ समिति नरहेका अवस्थामा सभामुखको एकल निर्णयबाट फिर्ता भएको नभई संवैधानिक परिषद्ले नै लिएको उहाँले स्मरण गराउनुुभयो । संवैधानिक परिषद्को सिफारिस आफूूसमेतको सहभागितामा विधिसम्मत ढङ्गले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको बताउँदै उहाँले भन्नुुभयो, “प्रतिनिधिसभा विघटनपूर्व सङ्घीय संसद्का महासचिव एवं सुनुवाइ समितिका सचिवलाई सिफारिशपत्र उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिशपत्र फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछुु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया