काठमाण्डौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कांग्रेसका भ्रातृ संस्थाले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको तथा संविधानको मस्यौदा बनाउँदा सो विषयमा व्यापक छलफल गरिएको धारणा व्यक्त गर्नुभयो ।
न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री मनोज वैद्यलगायतले प्रतिनिधिसभा विघटनको विरोध गर्नुभएको थियो । कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटन लगायतविरुद्ध आज ७७ जिल्लामै संयुक्त रुपमा एकसाथ प्रदर्शन गरेका छन् ।
यही माघ १३ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार पार्टीका भ्रातृ संस्था नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजले विरोध प्रदर्शन गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया