चैत्र १५, २०८० बिहिबार March 28, 2024

प्रदूषणको असर मुटुरोगदेखि डिप्रेसनसम्म, मर्निङ वाकमा नजान विज्ञको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो ।

चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग गरेर हिँड्ने, सकभर हिउँदभर मर्निङ वाकमा नजाने जस्ता उपाय गरी प्रदूषणबाट जोगिन सक्ने जानकारहरुको सुझाव छ ।

वायु प्रदूषणलाई भारतको राजधानी नयाँ दिल्लीसँग तुलना गर्दा त्यहाँको अवस्था निकै भयावह छ । मापदण्डको तहभन्दा १३ गुणा बढी प्रदूषण दिल्लीबासीले भोगिसकेका छन् । तर, त्यहाँको १० भागको एक भाग पनि काठमाडौंमा प्रदूषण नभएपनि यहाँ जोखिम भने बढी छ । यसको कारण हो दिल्लीको हावामा मिसिने प्रदूषणको तुलनामा काठमाडौंको हावामा मिसिने प्रदूषण बढी खतरनाक हुन्छ । दिल्ली, हरियाणा जस्ता ठाउँमा धान काटेसँगै सुकेको पराल जलाउने गरिन्छ । यस्तो हुँदा प्रचुरमात्रामा धुलो वायुमण्डलमा मिसिएको कारण वायु प्रदूषित हुनेगर्छ । दिल्लीको हावामा धुवा धेरै मिसिएको कारण धेरै टाढाको दृष्य पनि देख्न सकिँदैन । तर, काठमाडौंको हावामा त्यस्तो धुलो नभएर ईटाभट्टाको धुवाँ, सवारी साधनबाट कार्वन उत्सर्जन गरी निस्किएको धुवाँ आदि मिसिने भएकोले यो स्वास्थ्यको लागि बढी हानिकारक हुन्छ ।

विश्व स्वास्थ्य संगठनले देशका विभिन्न स्थानहरुमा हावाको गुणस्तरको मापदण्ड तय गरेको छ । यसमध्ये काठमाडौंमा १० माईक्रोग्राम प्रतिघनमिटरसम्मको अवस्थालाई सामान्य मान्ने गरिन्छ । संगठनको मापदण्ड अनुसार एक नाइट्रोनभन्दा साना धुलाका कण भएको हावालाई पिएम १ भनेर चिनाउने गरिन्छ । पार्टिकुलेट म्याटर २.५ युक्त हावा ४० माईक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने गरी संगठनले मापदण्ड तोकेको छ । तर, तिहारपछि हरेक दिन काठमाडौंको वायुप्रदूषणले मापदण्ड नाघेको छ ।

हिउँदमा ‘मर्निङ वाक’मा जानु घातक

वातावरण स्वास्थ्य सम्बन्धी जानकारहरु काठमाडौंको समयमा ‘मर्निङ वाक’मा निस्कनु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । काठमाडौंको भौगोलिक अवस्था र प्रदूषणका कारण जाडो मौसममा मर्निङवाकमा जाँदा प्रदूषित हावाका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरु निम्तिने चेतावनी उनीहरुले दिएका छन् ।

वातावरण स्वास्थ्य विद् डा. यादवलाल जोशी काठमाडौंमा जाडो महिनाभर बिहान नहिँड्न सुझाव दिन्छन् । उपत्यकामा हिँड्नको लागि बिहानभन्दा दिउँसोको समय उपयुक्त रहेको उनको बुझाई छ । जोशीका अनुसार भौगोलिक अवस्था र मौसमका कारण काठमाडौंमा धेरै हावा बहँदैन । हावा तातो भएपछि मात्रै त्यो उडेर चिसो हावाले वायुमण्डल ढाक्ने हो । तर, काठमाडौंको मौसम जाडो महिनामा बिहान एकदमै धेरै चिसो हुने गरेकोले हावा तात्न नपाएर प्रदूषित हावा नै वायुमण्डलमा बस्छ ।

पहिलेका राजा रजौटाहरु पनि दिउँसो मात्रै टहलिने गरेको स्मरण गर्दै उनी भन्छन् ‘बरु दिउँसोको समय काठमाडौंमा हिँड्नको लागि उपयुक्त छ । तर, मर्निङ वाक गर्नु भनेको चिसो मौसममा रोगहरुलाई निम्त्याउनु मात्रै हो । उनले काठमाडौंमा दिउँसो तातेको प्रदूषित हावा भोटेकोशीको किनारा तिर जाने गरेको बताएका छन ।

मुटुरोगदेखि डिप्रेसनसम्मको हुनसक्छ समस्या

वायु प्रदूषणका कारण यस्ता सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामीहरु हुने गर्छन् । त्यसमध्ये पनि बुढाबुुढी मानिसहरु, बच्चाहरु र गर्भवती महिलाहरु प्रदूषणका कारण धेरै बिरामी हुन्छन् । वयस्कहरुमा प्रदूषणको असर केही समयपछि देखिने गर्छ भने बालबालिका, बुढाबुढी र गर्भवती महिलाहरुमा यसको असर तत्कालै देखिने गर्छ । प्रदूषणका कारण मानिसहरुमा ब्लड प्रेसर, तनाव बढेर जाने, खिन्नता, मानसिक रोगहरु बढ्ने जस्ता समस्या हुने गर्छ । डा। जोशीका अनुसार मुटु सम्बन्धी रोग कार्डियो भस्कुलर डिजिट बढ्ने, नाक, कान र घाँटीमा समस्या देखिने मुख्य कारण पनि प्रदूषण नै हो ।

हिउँदमा किन विद्यालय जान मान्दैनन् बच्चाहरु ?

अरु समयको तुलनामा बच्चाहरु हिउँद महिनामा विद्यालय जान मान्दैनन् । त्यो चिसोका कारण नभएर प्रदूषणको कारण भएको डा. जोशीको बुझाई छ । अहिले बच्चाहरुमा डिप्रेसनको समस्या समेत देखिन थालेको छ । प्रदूषणले धेरै किसिमका मानसिक रोग निम्त्याउँछ । प्रदूषणकै कारण धेरै रिस उठ्ने समस्या पनि हुन्छ । साथमा गर्भवती महिलाका कारण पछि जन्मिने बच्चाहरुको मस्तिस्क समेत कमजोर हुने गर्छ । गर्भवती महिलाको पाठेघर भित्र धुलो प्रवेश गर्‍यो भने त्यसले जन्मिने बच्चालाई समेत गम्भीर समस्या निम्त्याउने उनले जानकारी दिएका छन ।

त्यस्तै, प्रदूषणका कारण वयस्कहरुमा ‘प्रि(म्याचुयर्ड मोर्टालिटी’ अर्थात् समय अघि नै मृत्युहुने समस्या देखिन्छ । नेपालीहरुको औषत् उमेर ७२ वर्ष भएपनि यही कारणले ६५/६६ वर्षमा नै धेरैको ज्यान जाने सम्भावना समेत रहेको जोशीले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया