श्रावण ३, २०८२ शनिबार July 19, 2025

त्रिपुरासुन्दरी मन्दिरका लिंगा दुईपटक भाँचियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये पर्ने त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगा भाँचिएका छन् । त्रिपुरासुन्दरी देवीका प्रतिमाका रूपमा रहेका लिंगा हावाहुरीका कारण मंगलबार राति र बिहीबार गरी दुईपटक भाँचिएका हुन् ।

मन्दिरमा रहेका भगवती, कालिका, विक्रम शाही महाराज र चण्डिकाका लिंगामध्ये भगवतीको लिंगा एक दिनको अन्तरमा दुईपटक भाँचिएको हो । लिंगा भाँचिएसँगै तत्कालै त्रिपुराकोटका स्थानीय मिलेर नयाँ लिंगा ठड्याएका थिए । जस्तोसुकै तीव्र हावाहुरी चले पनि विगतमा यस्तो घटना बिरलै मात्र हुने गरेको पुजारीहरू बताउँछन् ।

पुजारी देवीकृष्ण उपाध्यायले यसभन्दा अगाडि दुईपटक लिंगा भाँचिएको जानकारी दिए । ०५७ मा भगवती हराएको केही दिनमा लिंगा भाँचिएको र त्यसको एक वर्षपछि दरबार हत्याकाण्ड भएको उनको भनाइ छ । ‘त्योभन्दा अघि पनि एकपटक भाँचियो, त्यतिखेर पञ्चायत ढलेर बहुदल आयो, योपटक एकदिनको अन्तरको दुईपटक लिंगा भाँचियो, यसले राज्यमा ठूलो अनिष्ट हुने संकेत देखाउँछ,’ उनले भने । अहिलेसम्म चारपटक लिंगा भाँचिएको उपाध्यायले जानकारी दिए ।

लिंगा ढलेपछि नियमित गरिने नित्य हुने पूजाआजासमेत रोकिने भएकाले जताबाट भए पनि लिंगा जुटाएर हाल्नुपर्ने पुजारीहरू बताउँछन् । एउटै लिंगा २६ मिटर लामोसम्म ठड्याउने गरिएको छ । विजयादशमी र चैत्र अष्टमी गरेर वर्षमा दुईपटक अनिवार्य नयाँ लिंगा फेर्ने गरिन्छ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया