श्रावण ३, २०८२ शनिबार July 19, 2025

सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । अष्टमीका दिन कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ ।

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका वडा नं। २५ का अध्यक्ष रहनुभएका शाक्यले बताए ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समितिका सचिव बज्राचार्यले सुनाए । रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार