श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिए पनि हलेसीमा लागेको मेलामा बिनास्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ । हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।

कोरोना कहरकै कारण विसं २०७६ चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर मङ्सिरमा खुला गरिएको थियो । पूजाआजा गर्न आउने भक्तजनको पूजापाठ नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि खुला गरिएको हो ।

अधिकांश दर्शनार्थीले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ । राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडकखण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारी साधन लिएर हलेसी आउने गरेका हुन् ।

कोरोना कहरका बीच हलेसीमा लाग्ने मेला अवधिभर स्वास्थ्य मापदण्ड पालना गराउन तथा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना भाइरस जिल्लामा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर मेला तथा पूजाआजा गर्ने स्थानमा हुने भीडभाडलाई सुरक्षाकर्मी व्यवस्थित गरिरहेका छन् ।”

त्रिधार्मिकधाम हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू रहेका छन् । प्राकृतिक भूबनोटका हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा, महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गर्छ । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसीक्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसीक्यामेरा जडान गरिएको हो ।

यसैबीच रामनवमीको अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोटलगायतमा समेत ठूलो मेला लागेको छ । त्रिधार्मिकधाम हलेसीबाहेक अन्य ठाउँमा एक दिन मात्र मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार