श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘सेक्स वर्कर्स’लाई भेटेपछि…-  बबिता बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

के कसैसँग यौन सम्बन्ध राख्नु ‘काम’ हो ? ‘सेक्स वर्कर्स’को नेपाली अर्थ यौनकर्मी हुन्छ । यौन ‘कर्म’ हो या भावनात्मक संवेदनासँग जोडिएको कुरा हो ? यो किनबेच गर्ने वस्तु हो या ठूलो मानसिक तयारीका साथ एक–अर्कामा समाहित हुने कुरा ? ‘लेबल अफ अन्डरस्ट्यान्डिङ’अनुरूप बुझाइ फरक हुन सक्छ । मिडियाको विश्वबजारमा यौन सबैभन्दा बढी पढिने सामग्री हो । मानिसहरूबीच सबैभन्दा चासोको विषयका रूपमा पनि यसलाई लिइन्छ । त्यसैले त कोसँग कसको सम्बन्ध छ, कोसँग को हिँड्यो, हाँस्यो, बोल्योजस्ता व्यक्तिगत कुराले अहिले पनि चर्चा पाइरहेको हुन्छ ।

विपरीतलिङ्गीसँगको सम्बन्धलाई यौनसँग जोडेर हेर्ने चलन हामीकहाँ मात्र होइन विश्वमै छ । समयक्रममा समलिङ्गी सम्बन्धहरू पनि अघि बढिरहेका छन् । एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता हाम्रै देशका नागरिक हुन । यौनकर्मी महिलालाई विभिन्न उपमा दिने गरिए पनि खरिदकर्ताहरूलाई भने हामीकहाँ खासै त्यस्तो विशेष उपमाबाट सम्बोधन गर्ने गरिएको छैन ।

एक-अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेरनचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता हाम्रै देशका नागरिक हुन् ।

यही २०७६ साल मङ्सिरको पहिलो हप्ता यो पङ्क्तिकारको यस्ता महिलाहरूसँग भेटघाट र कुराकानी भयो जो राजधानीका विभिन्न स्थानमा सेक्स वर्करका रूपमा काम गर्थे, गर्छन् । चालीस–पचासजनाको सङ्ख्यामा एकै ठाउँ उनीहरूलाई भेटेर फर्किएको केही दिनसम्म तीमध्ये केहीको अनुहार आँखावरिपरि आइरह्यो । छोरी भन्न मिल्नेदेखि आफ्नै दौँतरी र आमाको उमेरसम्मका उनीहरू यौनकर्मी बन्नुका पछाडि यही जिन्दगीमा आफूले व्यहोरेका अनेक आँधी–बेहरी लुकेका थिए । तीमध्ये अधिकांशको कथा पतिले दिएको धोखा, दुःख, कष्ट र अपमानसँग जोडिएको थियो । बच्चा हुर्काउन र पढाउनका लागि प्रहरीको धरपकड र घोर अपमान सहेर उनीहरू पेसामा थिए, छन् । सोही पेसा गरेर बच्चा पढाएकामध्ये कतिचाहिँ बच्चा ठूलो भएपछि आमाको पेसा थाहा पाएर घृणा गर्दै घर छोडेर हिँडेकाले विक्षिप्त मन लिएर बाँचिरहेकाहरू थिए । जिन्दगी धान्न यौन पेसा अपनाएर कपाल सेतै फुलेपछि टेक्ने, समाउने ठाउँ नभएकाहरूको सङ्ख्या पनि बढ्दै गएको रहेछ । उक्त पेसामा लागेकामध्ये धेरैको नागरिकता छैन रहेछ । नागरिकता नभएपछि उनीहरूले बैंकमा खातासम्म खोल्न मिल्ने अवस्था नहुनु स्वाभाविक नै हो ।

साना छोराछोरी हुनेहरूमध्ये केहीले भने, ‘घरमा बच्चा आमाले साँझ पापा लिएर आउँछे भनेर पर्खिरहेका हुन्छन् । हामीलाई कहिलेकाहीँ बाटोमा हिँड्दाहिँड्दै प्रहरीले पक्रिएर दश दिनसम्म थुनामा राख्छ । बच्चा एक्लै भएकाले मानवीय नाताले छोडिदिनुस् भन्दा उनीहरूले छोड्दैनन् । प्रहरीमा बुझाउनका लागि पैसा पनि हुँदैन ।’ यौनकर्मी महिलालाई अपराधीलाई झैँ व्यवहार गर्ने गरिएको छ । उनीहरूको यौनको मोलतोल गर्नेहरू पक्राउ पर्दैनन् । केही यौनकर्मी महिलाले इथिक्सको कुरा पनि गरे । ‘हामीकहाँ ठूलाठूला मान्छे पनि आउँछन्, श्रीमतीको पाठेघरमा समस्या छ या पाठेघर निकालेको छ भन्छन्, तर हामी उनीहरूको नाम भन्दैनौँ । नाम भने यहाँहरू सबैले चिन्नुहुन्छ, आफ्ना ग्राहकको गोपनीयता हाम्रो इथिक्स हो ।’

यौनकर्मी महिलालाई अपराधीलाई झैँ व्यवहार गर्ने गरिएको छ । उनीहरूको यौनको मोलतोल गर्नेहरू पक्राउ पर्दैनन् । केही यौनकर्मी महिलाले इथिक्सको कुरा पनि गरे ।

यो पेसामा पढेलेखेका महिलाको सङ्ख्या थपिँदै रहेछ । एकपटक प्रहरी थानामा बसेर फर्किएकाहरूलाई बजारमा किनमेल गर्दा, रेस्टुरेन्टमा खाँदै गरेको बेला र बाटोमा हिँडिरहेको बेला पनि प्रहरीले अश्लील भाषा प्रयोग गर्दै पक्रने गरेको रहेछ । एकपटक रत्नपार्कमा प्रहरीले लखेटेपछि भाग्दै गर्दा एक महिला दुर्घटनामा परिछन्, तर प्रहरीले उठाएनछन् । अरूले उठाउन लाग्दा पनि यो त यस्तो हो भनेर अपमानपूर्ण भाषा प्रयोग गरेर अरूलाई पनि उठाउन दिएनछन् । प्रहरी कार्यालयभित्र पुऱ्याएपछि भने उनीहरूलाई ‘सेफ्टी पिन’ भनी सम्बोधन गरिँदोरहेछ । सेफ्टी पिन किन भनेको भन्नेचाहिँ उनीहरूलाई पनि थाहा छैन ।

घरेलु हिंसामा परेका मात्र नभई द्वन्द्वपीडितहरूको सङ्ख्या पनि ठूलो रहेछ । मुलुकमा १० वर्षे युद्धका कारण व्यवस्था नै परिवर्तन हुँदा द्वन्द्वपीडितहरू शरीर बेच्नुपर्ने अवस्थामा पुग्नु कति पीडादायी कुरा हो भनेर शायद भनिरहनुपर्दैन । ‘श्रीमानको उपचार गर्दा ऋणमाथि ऋण थपिएपछि म रत्नपार्क पुगेँ, निको भएपछि यस्तो पेसामा लागिस् भनेर उनले छाडिदिए’ सुन्दा मनमा पहिरो जाने यस्ता पीडादायी वास्तविकता त उनीहरूसँग कति छन् कति । महिलाहरू रत्नपार्क, बालाजु, कोटेश्वर, बसपार्कतिर बसेको देख्नेले तिनलाई कसले र केले त्यहाँ पुग्न बाध्य बनायो ? भनेर सोच्दैन । कति श्रीमान्को मानसिक अवस्था बिग्रिएपछि त्यहाँ पुगेका छन्, कतिले छोराछोरीको पेट पाल्नका लागि पेसा अपनाएका छन् । ‘हामी हाम्रा छोरी–बुहारीले यस्तो पेसा गरून् भन्ने चाहँदैनौँ,’ सबैको भनाइ एउटै थियो । यसको अर्थ उनीहरू यो राम्रो र सहज पेसा हो भनेर आएका होइनन् ।

देहव्यापार अपराधीकरण गर्नुपर्ने कुरा हो कि होइन ? विश्वका धेरै मुलुकमा यो गैरकानूनी छ, तर अपराध मानिँदैन । कतिपय देशमा कानूनी मान्यता दिइएको छ, तर नियमन गरिन्छ । कतिपय देशमा यौन बेच्नुलाई अपराध मानिँदैन, तर किन्नुलाई अपराध मानिन्छ । क्यानडामा यस्तो व्यवस्था छ । जर्मनीमा देहव्यापार कानूनी छ, तर महिलाको सुरक्षाका लागि यति धेरै प्रावधानहरू राखिएको छ कि सेक्स वर्करसँग जानका लागि ग्राहकले धेरैपटक सोच्नुपर्छ । हामीकहाँ कानून छैन, तर यौनकर्मीलाई मात्र नभई कुनै पनि महिला–पुरुषलाई होटेलमा बास बसिरहेको ठाउँमा पनि छापा मारेर पक्राउ गर्ने गरिएको छ । काठमाडौंका प्रहरी प्रमुख फेरिनासाथ शान्ति सुरक्षाका नाममा होटेलका बन्द कोठाहरूमा छापा मार्ने गरिएको छ । अहिले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी कानूनले त्यसरी कोठामा छापा मार्न दिँदैन, पाइँदैन । तर, प्रहरीबाट कानूनको पालना भइरहेको छैन ।

श्रीमानको उपचार गर्दा ऋणमाथि ऋण थपिएपछि म रत्नपार्क पुगेँ, निको भएपछि यस्तो पेसामा लागिस् भनेर उनले छाडिदिएसुन्दा मनमा पहिरो जाने यस्ता पीडादायी वास्तविकता त उनीहरूसँग कति छन् कति ।

गत वर्ष जेनेभामा आयोजित सिड सेसनमा परिचित केही बहिनीहरूले ‘म सेक्स वर्करको हैसियतमा बोलिरहेकी छु’ भनेर आँखैअगाडि बोल्दा अचम्म लागेको थियो । त्यतिबेला केहीले हामीकहाँ पनि सेक्स वर्कर छन् र ? भनेर प्रश्न पनि गरेका थिए । अहिले काठमाडौंमा मात्रै ४० हजारभन्दा माथि यौनकर्मीको सङ्ख्या रहेको अनुमान गरिएको छ । वृद्धा महिलाको बस्ने, खाने समस्या छ । गत हप्ता राजधानीमा भेटेका यौनकर्मी महिलामा अचम्मको विविधता देखेँ । मधेसी महिला पनि राजधानीको सडकमा यौनकर्ममा संलग्न छन् भन्दा पत्याउन गाह्रो पर्छ, तर यो हाम्रो वास्तविकता हो । क्षेत्री, बाहुन, विभिन्न जातजाति, क्षेत्र सबैतिरका महिला पेसामा छन् । यो समावेशी भयो भनेर खुसी मान्नुपर्ने कुरा भने होइन । राज्यले यसलाई धरपकड गरेर होइन वैकल्पिक कामको व्यवस्था गरेर सम्बोधन गर्नुपर्छ ।

 ‘सेक्स वर्क’ सदियौँ पुरानो पेसा हो । यसका रूपहरू सडकदेखि महलसम्म फरक थिए, छन् । यसलाई अधिकारसँग जोडेर पनि हेर्ने गरिएको छ । महिलाको आत्मसम्मानसँग मात्र नभएर यो पुरुषको चरित्रसँग जोडिएको कुरा पनि हो । तर, हामीकहाँ प्रायः महिलालाई मात्र दोषी देखाउने गरिएको छ । भगवान् गौतम बुद्धको जीवनमा पनि सेक्स वर्कर महिलाको प्रसङ्ग जोडिएको छ । यो भनेको २५ सय वर्षअगाडिको कुरा हो । एकपटक गौतम बुद्धका निकटतम सहयोगी आनन्दलाई एकजना यौनकर्मी महिलाले खाना खान निम्ता दिइछन् । आनन्दले बुद्धलाई के गरुँ भनेर सोधे । बुद्धले ‘बोलाएको ठाउँमा किन नजानु, जाउ न’ भनेर भनेपछि गाउँका भलाद्मीहरूले त्यस्ती चरित्रहीन महिलाकहाँ जाँदा गौतम बुद्धकै बेइज्जत हुने भनी नजाने सल्लाह दिए । उनीहरूको कुरा नसुनेझैँ गरी त्यहाँ नजानुपर्ने कारणचाहिँ के हो नि ? भनेर सोध्दा उनीहरूले महिला यौनकर्ममा संलग्न भएकाले उनको चरित्र ठीक नभएको बताए । जवाफमा उहाँले ‘यति सानो गाउँमा उनको चरित्र बिगार्न बाहिरबाट त मानिस आउँदैनन् होला । उनीसँग जाने तपाईंहरू चरित्रवान अनि ती महिलाचाहिँ चरित्रहीन कसरी भइन् ?’ भनी प्रश्न गरेपछि जवाफमा उपस्थित सबैले शिर निहु¥याएका थिए भनी बुद्धको जीवनीमा उल्लेख छ । आनन्द उनीकहाँ खाना खान गए र केही दिनपछि उनी भिक्षुणी बनेर बुद्धको टिममा सामेल भइन् । वातावरणले मानिसलाई परिवर्तन गर्छ भन्ने कुराको उदाहरण पनि हो यो ।

हाम्रो देशमा यो पेसा राजधानीमा मात्र सीमित छैन । विभिन्न जिल्लाहरूमा सेक्स वर्करहरूको सङ्ख्या बढ्दै गएको सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा बहस र छलफल हुनु आवश्यक छ । धरपकड र अपमान गर्नुअघि राज्यले विकल्प दिन सक्नुपर्छ । यो लेख घटना र बिचार साप्ताहिकबाट लिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार