काठमाण्डौंः कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो ।
यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्याउदै आएको छ ।
यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउदै आएका छन् । यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट–सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि उपलब्ध गराउने गरेको छ ।
उनले भने, “निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्याएका छौ ।” नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याउदै आईएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको अधिकारी बताउछन्। उनले भने, “एचआईभि एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।” परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।
कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन् । – रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया