श्रावण ३, २०८२ शनिबार July 19, 2025

लक्षित समूहका नागरिकले पाएनन् कोरोना विरुद्धको खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि नवलपुरका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् । सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरि भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ । नगरपालिकाअन्तर्गत पर्ने नवलपुर स्वास्थ्य चौकीले तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा नदिएको पाइएको छ । मध्यविन्दु–३ का हुमनाथ पोखरेल एक घन्टा हिँडेर नवलपुर स्वास्थ्य चौकी पुगे पनि खोप लगाउन नपाएको बताउँछन् ।

“म ब्रम्हस्थानबाट यो चर्को घाममा हिँडेरै खोप लगाउनका लागि कोल्हुवाको नवलपुर हेल्थ पोस्ट पुगेँ”, उनले भने, “तर त्यहाँ पुगेपछि तपाईंको उमेरका व्यक्तिका लागि यो खोप होइन भनेर मलाई खोप लगाउनबाट बञ्चित गरियो ।” पोखरेलले देखाएको नागरिकताअनुसार उनको जन्म विसं २०१३ जेठ २९ गते रहेको छ । सरकारले तोकेको उमेर समूहमा उनले खोप लगाउन पाउनुपर्ने भए पनि पोखरेल जस्तै २०१३ सालमा जन्मिएका धेरैले नवलपुर स्वास्थ्य चौकीबाट खोप लगाउन पाएनन् ।

उनी खोप लगाउन आफ्नो नगारिकता बोकेर स्वास्थ्य चौकी पुगेका थिए । अघिल्लो पटक खोप लगाउन जाने बेलामा उनलाई ६५ वर्ष नपुगेको भनेर फर्काइएको उल्लेख गर्दै पोखरेलले भने, “अहिले फेरि ६५ वर्ष पुगिसक्नुभयो, तपाईलाई यो खोप लगाउन मिल्दैन भनेर फर्काइयो, तर अझै ६५ वर्ष पुगेको छैन म ।” त्यसो त अघिल्लो पटक ६५ वर्ष नपुगेका तर अहिले ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरु पनि खोपबाट बञ्चित भएका छन् ।

मध्यविन्दु—३ कै पशुपतिया चौधरीले आफ्नो जन्म २०१३ माघमा भए पनि स्वास्थ्य कार्यालयले खोप लगाउनबाट बञ्चित गरेको बताइन् । उनी ६४ वर्ष पूरा हुन अझै आठ महिना बाँकी छ । “यो व्यवहारिक निर्णय भएन । यसरी त हामीलाई अन्याय भयो”, उनले भनिन्, “हामीले अघिल्लो पटक पनि खोप लगाउन पाएनौँ । अहिले सरकारले हाम्रै लागि भनेर तोकेर पठाएको खोपबाट समेत बञ्चित गराइयो ।”

सरकारले तोकेको लक्षित वर्गका व्यक्तिले खोप लगाउन नपाएकोबारे स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख केशवप्रसाद चापागाईले पालिकाले निर्णय गरेर खोप दिइएकोले आफूले केही भन्न नसक्ने बताए । “सरकारले तोकेको मापदण्ड पालना गरेर खोप दिनुपर्ने हो, तर स्थानीय पालिकाले कसरी खोप दिएका छन् । यसबारे मलाई जानकारी भएन”, उनले भने, “हामीले खोप लगाउने होइन, पालिकालाई खोप उपलब्ध गराएर समन्वय मात्रै गर्ने हो ।”

मध्यविन्दु नगरपालिकामा लक्षित वर्गले खोप लगाउन नपाएको विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले कर्मचारीहरुमा स्पष्टता नहुँदा केही व्यक्तिहरु फर्किनु परेको स्वीकार गरे । “स्वास्थ्य संस्थासँग राम्रो समन्वय नहुँदा लक्षित उमेरका व्यक्तिले खोप लगाउन छुट्नुभयो होला”, उनले भने, “त्यसलाई म्यानेज गर्न पाए राम्रो हुने थियो, आज पनि केही स्थानमा खोप लगाइदैछ, खोप लगाउन नपाएका लक्षित उमेर समूहका व्यक्तिलाई त्यहाँ पुर्याउन पाए हुने थियो ।” पोखरेलले प्राथमिक उपचार केन्द्र चोरमारा र नारायणी स्वास्थ्य चौकीमा शुक्रबार पनि खोप कार्यक्रम जारी रहेको बताए ।

यद्यपि नवलपुर स्वास्थ्य चौकीका प्रमुख रामानन्द महतोले भने नगरपालिकाले आफूहरुलाई पठाएको परिपत्रअनुसार नै खोप लगाएको बताए । “नगरपालिकाले हामीलाई २०१४ सालदेखि २०१६ सालसम्म जन्मिएका व्यक्तिलाई खोप लगाउनू भनेर परिपत्र गरेको थियो”, उनले भने, “पहिलो दिनमा निर्देशनअनुसार काम गरेको र खोप रहने भएपछि बिहीबार अन्य उमेरका व्यक्तिलाई पनि खोप लगाएर पठायौँ ।” पहिलो दिनमा टाढाबाट खोप लगाउन आएका लक्षित उमेर समूहका व्यक्तिलाई रित्तै फर्काएको नवलपुर स्वास्थ्य चौकीले बिहीबार ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई समेत खोप लगाएको महतोले स्वीकार गरे ।

लक्षित वर्गका व्यक्तिले खोप नपाएको बारे आफूलाई कुनै जानकारी नभएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । “यदि खोप पाउनुपर्ने व्यक्ति छुट्नुभएको भए उहाँहरुलाई आगामी कार्यक्रममा प्राथमिकतामा राख्नेछौँ, उहाँहरुले आफ्नो खोप केन्द्रमा नाम टिपाउनुपर्छ”, उनले भने, “मानवीय त्रुटिले कोही व्यक्ति खोप लगाउन छुटेका होलान् । यो त्यति ठूलो विषय होइन ।” मध्यविन्दु नगरपालिकामा ८ सय ७५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार